काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म चितवनको पर्यटकीय क्षेत्र सौराहामा ‘इसेवा ह्याकाथन २०२६’ आयोजना गर्ने भएको छ । वन्यजन्तु तथा वातावरण संरक्षणका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व वन्यजन्तु कोष सँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिन लागेको हो ।
विगत १७ वर्षदेखि सहज तथा सुरक्षित डिजिटल भुक्तानी प्रणालीको विकास, डिजिटल अर्थतन्त्रको विस्तार र वित्तीय समावेशीकरणमा काम गर्दै आएको इसेवाले नवप्रवर्तन, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै प्रयासअन्तर्गत नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ह्याकाथन आयोजना गर्न लागिएको हो ।
ह्याकाथनमा देशभरिबाट छनोट भएका २० टोलीका ६३ जना युवा सहभागी हुनेछन् । उनीहरूले डिजिटल प्रणाली, साइबर सुरक्षा तथा वातावरणीय दिगोपनासँग सम्बन्धित व्यावहारिक समाधान र प्रोटोटाइप प्रस्तुत गर्नेछन् ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले युवामा समस्या समाधानमुखी सोच विकास गर्न, प्रविधिमैत्री समाधान निर्माण गर्न र दिगो विकासमा योगदान पुर्याउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।
तीन दिनसम्म चल्ने आवासीय प्रतिस्पर्धामा सहभागी टोलीहरूलाई फिनटेक, साइबर सुरक्षा तथा सूचना प्रविधिका विज्ञहरूले प्रत्यक्ष मार्गदर्शन र मेन्टरसिप प्रदान गर्नेछन् । यसले सहभागीहरूलाई आफ्ना विचारलाई अझ परिष्कृत गरी व्यवहारिक समाधानमा रूपान्तरण गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई नगद पुरस्कार प्रदान गरिनेछ । प्रथम स्थान हासिल गर्ने टोलीलाई तीन लाख रुपैयाँ, द्वितीय स्थान हासिल गर्ने टोलीलाई दुई लाख रुपैयाँ र तृतीय स्थान हासिल गर्ने टोलीलाई एक लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।