काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरेपनि स्वतन्त्रताका नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य निषेधित भएको बताएका छन् ।
सार्वजनिक सेवा प्रसारण संस्था, रेडियो नेपालको हीरक महोत्सवलाई बुधबार यहाँ सम्बोधन गर्दै उनले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने बताउँदै संविधानको व्यवस्था, मर्म र भावना कसैले भुल्न नहुने स्पष्ट पारे ।
पौडेलले भने, ‘नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरेको छ । स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित छ । यस्ता प्रकृतिका घटना हुन नदिन सबै गम्भीर बन्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
पौडेलले संविधान प्रदत्त अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कार बसैले पनि बिर्सन नहुने धारणा राखे । उनले भने, ‘लामो संघर्ष, त्याग र बलिदानबाट जनता आफैँले बनाएको संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष हो । तर, संविधानले प्रदान गरेको यो अधिकार प्रयोग गरिरहँदा हामी राज्य, कानुन र जनताप्रति जिम्मेवार पनि हुनु जरुरी छ ।’
नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकार र सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको जनाउँदै राष्ट्रपति पौडेलले सञ्चार जगत्को यो महत्त्वपूर्ण र गम्भीर जिम्मेवारीलाई बोध गरेर संविधानमा पूर्णप्रेस स्वतन्त्रताको सुनिश्चित गरिएको बताए ।
उनले आफू र आफ्ना पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको जनाउँदै समाचार र कैयन शिक्षा, जनचेतना, मनोरञ्जनात्मकलगायत कार्यक्रम आफ्नो स्मृतिमा आज पनि मिठो सम्झना बनेर झञ्कृत भइरहेका उल्लेख गरे ।
राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनासँगै मुलुकमा आमसञ्चारमाध्यमको विकास र विस्तारले गति लिएको उल्लेख गर्दै संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न रेडियो नेपालले नेपाली समाजको समावेशी चरित्रको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए ।
उनले सबै जातजाति, भाषाभाषीको अधिकार संरक्षण गर्ने बहुलवादमा आधारित लोकतन्त्रको सुदृढीकरणलाई आफ्नो धर्म मानेर काम गर्दा संस्थाले लिएका लक्ष्य पूरा हुने उल्लेख गर्दै सञ्चारमाध्यम विपद्का बेला आमनागरिकको भरोसाको केन्द्र हुन्छ भन्ने प्रमाण २०७२ को भूकम्प, कोरोना महामारीलगायत विपद्का बेलामा रेडियो नेपालसहितका सञ्चारमाध्यमले पुर्याएको योगदानबाट पुष्टि भएको बताए ।
राष्ट्रपति पौडेलले २००७ सालको जनक्रान्ति र रेडियो नेपाल नेपालको इतिहासमा दुई जुम्ल्याहा घटना भएको उल्लेख गर्दै २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँगाउँ र जनजनमा पुर्याउन रेडियो नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराए ।
उनले रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आजका दिन रेडियो नेपाल हुनुमा कोइरालाको लोकतान्त्रिक चेतना र मूल्यमान्यता मुख्य कारण भएका बताए ।
पौडेलले भने, ‘अहिले आएर रेडियो नेपाल स्वतन्त्र, स्वायत्त संस्थाका रूपमा सार्वजनिक प्रसारण माध्यमका रूपमा विकास भएको छ । त्यसैले, लोकतान्त्रिक मूल्यमान्यता, स्वतन्त्र व्यावसायिक पत्रकारिताको धर्म अनुरुप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्न सार्वजनिक सेवा प्रसारणका सम्बन्धमा विश्वले स्वीकारेका आधारभूत मान्यतालाई आत्मसात गर्ने मैले विश्वास लिएको छु ।’
समारोहमा राष्ट्रपति पौडेलले जनगायक रामकृष्ण दुवाल र देउडा गायक नन्दकृष्ण जोशीलाई ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान-२०८१’ बाट सम्मान गरे । साथै उनले वरिष्ठ सङ्गीतकर्मीहरूलाई पनि सम्मान प्रदान गरे ।
रेडियो नेपालकको हीरक महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उत्कृष्ट कर्मचारी, समाचारदाता र प्रदेश कार्यालय तथा २५ वर्ष अविछिन्न सेवा प्रवाह गर्नुभएका २२ जना कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरे । उनले रेडियो नेपालले प्रकाशन गरेको ‘झङ्कार’ र पूर्वनिर्देशक टीका भण्डारीको ‘रेडियो नेपाल ७५ वर्षः एक सय एक स्रष्टा’ पुस्तक विमोचन गरे ।
नेपालको पहिलो प्रसारण संस्था रेडियो नेपाल आजदेखि औपचारिक प्रसारणको ७५औँ वर्षमा प्रवेश गरेको छ । २००७ सालफागुन ७ गते प्रजातन्त्रको स्थापना भएलगत्तै २००७ सालचैत २० गते रेडियो नेपालको स्थापना भएको थियो । समावेशी आवाज बनेको रेडियो नेपालबाट २५ भाषामा समाचार र २४ भाषामा कार्यक्रमसहित सातै दिन २४सैँ घण्टा प्रसारण हुँदै आएको छ ।
सार्वजनिक सेवा प्रसारण संस्थाका रूपमा स्तरोन्नति भएको रेडियो नेपालले राष्ट्रिय एकता, विपद्मा नागरिकको रक्षा र समृद्धिमा केन्द्रित भएर विषयवस्तु र प्रस्तुतिलाई नयाँ स्वरुपमा लैजाने प्रयास गरिरहेको छ ।