पर्सा । वीरगन्ज नाकाबाट ८ महिनामै करिब सवा खर्बको पेट्रोलियम पदार्थ आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागनुसम्ममा वीरगन्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।
विद्युतीय सवारी साधनको प्रयोग बढे पनि यो नाकाबाट पेट्रोलियम आयात बढेको छ । गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा एक अर्ब ६७ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको आठ महिनामा एक खर्ब २० अर्ब ५३ करोडको पेट्रोलियम पदार्थ आयात भएको थियो ।
वीरगन्ज नाकाबाट यो नाकाबाट डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात हुने गर्छ । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको आयात र राजस्व बढेको बताए । ‘अहिले पूर्वाधार निर्माणको समय भएकाले पनि पेट्रोलियम पदार्थको आयात बढेको देखिन्छ,’ उनले भने ।
कार्यालयका अनुसार चालु आवको आठ महिनामा सबै खालका पेट्रोलियम पदार्थको आयातबाट ५० अर्ब १३ करोड राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा ४४ अर्ब ८० करोड राजस्व संकलन भएको थियो ।
चालु आवको आठ महिनामा ६१ अर्ब ४५ करोड रुपैयाँबराबरको ६ लाख ८५ हजार ९९१ किलोलिटर डिजेल आयातबाट २७ अर्ब ३१ करोड राजस्व संकलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए । त्यस्तै, चालु आवको आठ महिनामा २५ अर्ब ३० करोड मूल्यको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल आयात हुँदा १६ अर्ब ४८ करोड राजस्व संकलन भएको छ ।
चालु आवको आठ महिनामा २४ अर्ब पाँच करोड मूल्यबराबरको २१ करोड ४२ हजार ७८१ किलो एलपीजी ग्यास आयात भएको छ । यसबाट चार अर्ब ५० करोड राजस्व संकलन भएको छ । गत आवको आठ महिनामा भने १९ अर्ब ५२ करोडको १८ करोड ६८ लाख १२ हजार १२० किलोग्राम एलपीजी ग्यास आयात भएको थियो ।