• Menu

एसइई परीक्षा आजदेखि, पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

नेपाल प्रफिट

२०८१ चैत ७, १०:२०

एसइई परीक्षा आजदेखि, पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, ‘देशभरका केन्द्रमा शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालन भएको छ, हालसम्म कुनै पनि केन्द्रमा समस्या आएको जानकारी छैन ।’

यस वर्षको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन् । कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी छन् । गत वर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।

नियन्त्रक पौडेलले प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थालाई मजबुद बनाएको उल्लेख गरे । परीक्षाका लागि प्रत्येक केन्द्रमा एक जना केन्द्राध्यक्ष, १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष, २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष राखिएको छैन ।

एसइईअन्तर्गत जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थी सहभागी छन् । जापानमा परीक्षा सुरु हुनुभन्दा केही समयअघि इमेलमार्फत प्रश्नपत्र पठाइएको उनले जानकारी दिए । काठमाडौँको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिएका छन् ।

यस वर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी भएका छन् । यस वर्ष सबैभन्दा बढी काठमाडौँमा ३९ हजार ६०० र सबैभन्दा कम मनाङमा ४३ जनाले परीक्षा दिँदैछन् ।

तालिकानुसार पहिलो दिन आज अनिवार्य अंग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुँदैछ ।

चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीका लागि अंग्रेजी (इलेक्टिभ इङ्लिस)को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । चैत १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम र १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ ।

बोर्डले यस वर्ष असार ७ भित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने जनाएको छ । साथै, न्यूनतम ३५ अंकभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेसमेत बोर्डले स्पष्ट पारेको छ । लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक हुनेछ । परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्‍याउने लक्ष्य छ । २०८० को एसइईमा ४८ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।