काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब २५ करोड अवैध रकम बरामद भएको घटनामा गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
बैठकको आकस्मिक समयमा सांसद माधव सापकोटाले सोमबार राति ११ बजे काठमाडौँको टोखा नगरपालिका-२ झोरबाट नेपाल प्रहरीले करिब २५ करोड अवैध रकमसहित एउटा गाडी बरामद गरेको घटना उल्लेख गर्दै घटनाबारे गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गरे ।
सोमबार राति ११ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले नगदसहित एक जनालाई पक्राउ गरेको थियो । काठमाडौँको झोर महाकाल क्षेत्रबाट ना १ ख १६५२ नम्बरको ट्रकबाट चालकसहित उक्त रकम बरामद गरिएको जनाइएको छ ।
सांसद सोपकोटाले भने, ‘डलर र यूरो गरेर करिब २५ करोड अवैध रकम बरामद भएको समाचार बाहिर आएको छ, यो घटनाले सिंगो देशलाई तरङ्गित बनाइरहेको छ । यो घटनाले संगठित अपराध र तस्करीको जालो कुन स्तरसम्म झाङ्गिरहेको छ भन्ने प्रष्ट हुन्छ ।’
‘हिजो मात्रै यूरो र डलर गरी २५ करोड बोकेको ट्रक बरामद भएको छ, के नेपाल तस्करहरूको ‘ट्रान्जिट पोइन्ट’ बनेको हो ?,’ सांसद रोशन कार्कीले प्रश्न गरिन् । उनले दिनप्रतिदिन तस्करहरूको जालोमा मुलुक फसिरहेको भन्दै उक्त जालो भत्काउन अपराधसम्बन्धी घटनामा निष्पक्ष भएर छानबिन गर्न माग गरिन् ।
सांसद सुमना श्रेष्ठले सरकारले शिक्षा क्षेत्रलाई गम्भीरतापूर्वक लिनुपर्ने बताइन् । उनले मधेस प्रदेशमा एसइईको परीक्षा हुन नसक्नुको कारणबारे सरकारले संसद्लाई जानकारी दिनुपर्ने माग गरिन् ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा राजनीतिक पार्टीको हस्तक्षेप हुँदा विश्वविद्यालयको अध्ययनमा असर परेको सांसद श्रेष्ठको भनाइ छ । उनले भनिन्, ‘विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चित गरियोस्, यो विषयमा एकले अर्कालाई आरोप प्रत्यारोप गरेर हुँदैन ।’
सांसद रामकृष्ण यादवले देशमा शान्ति, सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद रामकुमार राईले खोटाङ जिल्लामा यही चैत ४ गते आगलागी भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराए ।
सांसद रामहरि खतिवडा र मुक्ताकुमारी यादवले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।