काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनअघि बृहत् समीक्षा आवश्यक रहेको बताएका छन् । २७औँ सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा मंगलबार आयोजित जनसांस्कृतिक राष्ट्रिय सम्मान-२०८१ कार्यक्रममा उनले अहिले संविधान संशोधनभन्दा पनि समीक्षाको बहस आवश्यक रहेको बताएका हुन् ।
‘संविधान समीक्षाको बहस चलाइयोस्, त्यो टुंगोमा पुगेपछि मात्रै संशोधन अघि बढाइनुपर्छ,’ अध्यक्ष दाहालले भने, ‘सबै राजनीतिक दल र शक्ति मिलेर समीक्षा गरौँ, यसरी गरिने संशोधनले मात्रै सही आकार लिन सक्छ ।’
जनताको संघर्ष र बलिदानको बलमा स्थापित राजनीतिक उपलब्धि खोस्ने प्रयास स्वीकार्य नभएको र त्यस्तो प्रयासलाई परास्त गरिने उनले बताए । ‘इतिहासमा सीमित भइसकेको राजतन्त्र पुनःस्थापना असम्भव छ,’ उनले भने, ‘त्यसका लागि फेरि अर्को मूर्खता गर्नु उचित हुँदैन ।’
वैज्ञानिक समाजवादलाई राजनीतिक उद्देश्य लिएका माओवादी धारहरु छिट्टै एकताबद्ध हुने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले वामपन्थी एकताका निम्ति आफूले इमानदार प्रयास गर्ने बताए । मुलुकको राजनीतिक परिवर्तनमा संस्कृतिकर्मीको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।
नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य माइला लामाले मुलुकलाई पश्चगमनतर्फ फर्काउने प्रयास कुनै हालतमा सफल नहुने बताए । प्रतिगामी कदमविरुद्ध माओवादीहरु एकताबद्ध भएर फेरि संघर्ष गर्नुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री सत्य पहाडीले लेखेका १० वटा पुस्तक विमोचन गरे । अध्यक्ष दाहालले सांस्कृतिक सहिद परिवारका सदस्यलाई सम्मान पनि गरेका छन् ।