काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले सेवामा रहँदासम्म कसैप्रति पूर्वाग्रह नराख्ने बताएका छन् । गृह मन्त्रालयमा आज मंगलबार दर्ज्यानी चिह्न ग्रहण समारोहमा उनले सेवामा रहँदा सशक्त रुपमा प्रस्तुत हुने पनि बताए ।
प्रहरी महानिरीक्षक बन्न पाउँदा गम्भीर जिम्मेवारीवोध भएको र कसैप्रति पूर्वाग्रह नराखी निष्पक्षताका साथ सेवा गर्ने प्रतिबद्धता उनले जनाए ।
प्रहरी संगठनलाई नागरिकमैत्री बनाउन सहयोग पाइराख्ने विश्वास उनले व्यक्त गरे । थापालाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।
उनलाई मंगलबार बिहान गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाइदिएका छन् । नवनियुक्त आईजीपी थापाले आजै प्रहरी प्रधान कार्यालय नक्साल गएर पदभार ग्रहण गर्नेछन् ।