• Menu

माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत आयोजना अन्तिम चरणमा, जेठमा परीक्षण उत्पादन

नेपाल प्रफिट

२०८१ चैत ५, ११:०१

माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत आयोजना अन्तिम चरणमा, जेठमा परीक्षण उत्पादन
तस्बिर एआई

म्याग्दी । रघुगंगा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त आयोजनाको हालसम्म ७५ प्रतिशत निर्माण सकिएको छ ।

ठूलोखोला हाइड्रोपावर लिमिटेडले रघुगंगा-७ चिमखोला र वडा नं ८ कुइनेमंगलेको सीमा क्षेत्रमा निर्माण गर्न लागेको २२.५ मेगावाट क्षमताको उक्त आयोजना निर्माण सुरु गरेको दुई वर्षको अवधिमा बाँध, विद्युतगृह र पाइप लाइनतर्फको करिब ८० देखि ९० प्रतिशत काम सकिएको ठूलोखोला हाइड्रोपावरका वित्त प्रमुख प्रदीप खतिवडाले जानकारी दिए । उनका अनुसार आगामी जेठ मसान्तभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको पूर्वाधार निर्माणको कामलाई गति दिइएको छ ।

आयोजनाको पूर्वाधारतर्फको निर्माण कम्पनी देव ऊर्जा कन्ट्रक्सन प्रालिले दैनिक दुई सय जनशक्ति परिचालन गरेर काम गरिरहेको छ । आयोजनाकम लागि आवश्यक पर्ने उपकरण ढुवानीको काम धमाधम भइरहेको छ । विद्युतगृहमा विद्युतीय उपकरण र सामग्री जडानको काम भइरहेको वित्त प्रमुख खतिवडाले बताए ।

सुरुङरहित यस आयोजनामा कुल दुई हजार आठ सय मिटर पाइप लाइन जडानको काम अन्तिम चरणमा पुगेको छ । सुगुरथलामाथि रघुगंगा नदीमा निर्माण भएको बाँधबाट पेनस्टक पाइप लाइन हुँदै ल्याउने पानीलाई सेतिनी भ्यालीको फेदीमा रहने विद्युत गृहमा खसालेर उत्पादन हुने आयोजना प्रमुख लोकबहादुर नायकले जानकारी दिए । उनका अनुसार उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्नका लागि ट्रान्समिसन लाइन निर्माणको कामसमेत धमाधम भइरहेको छ ।

तीन अर्ब लागत अनुमान गरिएको यस आयोजनामा प्रवर्धकको तर्फबाट ३० प्रतिशत लगानी रहेको छ भने बाँकी ७० प्रतिशत लगानी सिटिजन बैंकको नेतृत्वमा कृषि विकास बैंक र माछापुच्छ्रे बैँकले लगानी गर्ने वित्तीय सम्झौता भएको छ ।