• Menu

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

नेपाल प्रफिट

२०८१ चैत ४, १०:२१


नवलपुर । एघार महिनाअघि मलेसियामा हत्या भएकी नवलपुरको कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ । वैशाख २९ गते मलेसियामा हत्या भएपछि शव ल्याउन परिवारले पहल गरे पनि ढिलाइ भएको थियो ।

तिलमायाको शव नेपाल ल्याउन भएको ढिलाइका बारेमा फागुन १ गते ‘छोरीको शव ल्याउन भौँतारिइरहेकी ७० वर्षीय आमा’ शीर्षकमा समाचार प्रकाशित भएपछि प्राथमिकताका साथ पहल भई शव नेपाल ल्याउन लागिएको हो ।

रोजगारीका लागि मलेसिया गएकी २५ वर्षीया तिलमायाको हत्या भएपछि परिवारले शव पनि पाएको थिएन भने राहत रकमका लागि कागजात पूरा गर्न पनि सकेको थिएन । श्रीमानसँग सम्बन्धविच्छेद गरेर ६ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया गएकी तिलमायाको पाकिस्तानी नागरिकले हत्या गरेका थिए ।

छोरी तिलमायाको हत्या भएको खबर पाएदेखि नै शव नेपाल ल्याउनका लागि ७० वर्षीय आमा धनमाया सार्की विभिन्न निकाय धाएकी थिइन् । तर, हत्याको अनुसन्धान नसकिएको भन्दै मलेसियाबाट शव नेपाल पठाउन आनाकानी भएको थियो ।

शव ल्याउन ढिलाइ हुँदा परिवारले पाएको दुःखबारे विभिन्न सञ्चारमाध्यममार्फत समाचार प्रकाशन भएपछि यस विषयले प्राथमिकता पाएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले बताइन् ।

‘लामो प्रयासपछि शव नेपाल ल्याउन लागिएको छ । तिलमायाको शव बोकेको विमान सोमबार दिनको साढे १२ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गर्ने जानकारी पाएका छौँ,’ उनले भनिन्, ‘शव बुझ्न तिलमायाकी दिदी नीलमाया सार्की आइतबार काठमाडौँ जानुभएको छ ।’

मलेसियादेखि काठमाडौँ शव ल्याउँदाको खर्च मलेसियन कम्पनीले नै व्यहोर्नेछ । शव सोमबार साँझसम्ममा तिलमायाको माइतीघर कावासोती–४ हसौरामा आइपुग्ने लम्सालले जानकारी दिइन् । ‘वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने निःशुल्क शवबहानमार्फत काठमाडौँबाट घरसम्म शव ल्याइनेछ,’ उनले भनिन्, ‘आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिएकाले सोमबार नै शव घर आइपुग्नेछ ।’

लामो समयसम्म प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा तिलमायाकी वृद्धा आमा र नाबालिका छोरी तड्पिरहेका थिए । जसरी भए पनि छोरीको शव नेपाल ल्याउन आमा धनमाया ११ महिनादेखि वडा कार्यालय र नगरपालिका धाउने गरेका थिए ।

मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुंगो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुने भएकाले अनुसन्धान सकेर शव पठाउन ढिलाइ भएको जानकारी आएको सुरक्षित आप्रवासन केन्द्र परामर्शदाता लम्सालले बताइन् । वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ ।

‘तिलमायाको परिवारले पाउने आर्थिक सहायताका लागि वैदेशिक रोजगार बोर्डमा निवेदन दिइसकिएको र बाँकी कागजपत्र शवसँगै आउने हुँदा पछि बुझाइनेछ,’ उनले भनिन् ।