• Menu

संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन  आवश्यक छ : राष्ट्रपति पौडेल

नेपाल प्रफिट

२०८१ फागुन २०, १३:३२

संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन  आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ  ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

नेपाल चिकित्सक संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार भएको बताए । उनले भने, ‘संविधानको यो भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकले यो पेशालाई सेवा भावको दृष्टिकोणले हेर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता  आधारभूत आवश्यकता प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको स्पष्ट पारे ।

उनले देशका दुरदराजमा अझै पनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको उल्लेख गर्दै यो अवस्थालाई गम्भिरतापूर्वक लिएर देशका कुना, कुनामा दक्ष, विज्ञ चिकित्सकको सेवा पुर्‍याउन आवश्यक रहेको बताए । उनले भने, ‘आजको यस विशेष अवसरमा सबैलाई आ-आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन आह्वान गर्दछु ।’

राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य शिक्षा अब्बल हुँदै दक्ष र विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु सुखद् पक्ष भएको उल्लेख गर्दै नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको आफैँले अनुभव गरेको बताए ।

उनले स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताए ।

यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्ने उनको भनाइ थियो । देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न आगामी दिनमा नेपाल चिकित्सक संघको भूमिका अझ प्रभावकारी हुने राष्ट्रपति पौडेलले बताए ।

सो अवसरमा ‘लिजेन्ड इन मेडिसिन’बाट डा. गौरीशंकरलाल दास, डा. मृग्रेन्द्रराज पाण्डे, डा. दिनेशनाथ गङ्गोल, डा. डिबि कार्की र डा. सरस्वती पाध्येयलाई राष्ट्रपति पौडेलले सम्मान गरेका थिए ।