• Menu

वीरगन्ज नाकाबाट सात महिनामा आठ अर्ब ६८ करोडको धान-चामल आयात

नेपाल प्रफिट

२०८१ फागुन १८, १०:१८

वीरगन्ज नाकाबाट सात महिनामा आठ अर्ब ६८ करोडको धान-चामल आयात

पर्सा । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलो धान आयात भएको छ ।

गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका हुँदै चार अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार ४१६ किलो धान आयात भएको थियो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताए । ‘गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धान-चामलको आयात बढेको छ,’ उनले भने ।

कृषिप्रधान मुलुक नेपालमा धानमात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ । चालु आवको सात महिनामा यो नाका हुँदै एक अर्ब ३५ करोड मूल्यको एक करोड ३३ लाख ७४ हजार आठ सय २६ किलो चामल आयात भएको छ । जबकि, गत आवको सोही अवधिमा भने एक अर्ब ६ करोडको ८१ लाख १७ हजार एक सय ३० किलो चामल आयात भएको थियो ।

चालु आवको सात महिनामा दुई अर्ब ९६ करोड मूल्यको पाँच करोड ७७ लाख १४ हजार ५८३ किलो मकै आयात भएको छ । जबकि, गत आवको सोही अवधिमा भने दुई अर्ब ९७ करोड मूल्य पर्ने ६ करोड ६० लाख ४९ हजार ९७२ किलो मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकै आयात भने सामान्य घटेको छ ।