• Menu

खराब मौसमका कारण काठमाडौंमा हवाई सेवा अवरुद्ध, परराष्ट्रमन्त्री सवार जहाज कोलकातामा अवतरण

नेपाल प्रफिट

२०८१ फागुन १६, शुक्रबार १२:४६

खराब मौसमका कारण काठमाडौंमा हवाई सेवा अवरुद्ध, परराष्ट्रमन्त्री सवार जहाज कोलकातामा अवतरण

काठमाडौं । खराब मौसमका कारण परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सवार कतार एयरवेजको जहाज अवतरण हुन नसकेपछि भारतको कोलकातामा डाइभर्ट भएको छ। मन्त्री राणा जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघको बैठकमा सहभागी भएर स्वदेश फर्कने क्रममा थिइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसमको असर परेसँगै अन्य केही अन्तर्राष्ट्रिय उडानहरू पनि डाइभर्ट भएका छन् । नेपाल एयरलाइन्स, सिचुवान एयरलाइन्स र कतार एयरवेजका जहाजहरूले निर्धारित समयमा काठमाडौं अवतरण गर्न नसक्दा अन्यत्र डाइभर्ट गरिएको हो ।

नेपाल एयरलाइन्सको क्वालालम्पुरबाट आएको जहाज भारतको नयाँ दिल्लीमा अवतरण गराइएको छ। त्यस्तै, चीनको तियाङफुबाट आएको सिचुवान एयरलाइन्सको जहाज ल्हासामा डाइभर्ट गरिएको छ भने दोहाबाट आएको कतार एयरवेजको अर्को जहाज कोलकातामा अवतरण गराइएको छ ।

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण प्रभावित भइरहेको छ । मौसममा सुधार आएपछि उडानहरू पुनः काठमाडौं ल्याउने तयारी गरिएको विमानस्थल स्रोतले जनाएको छ ।