काठमाडौं । जापानका व्यावसायिक प्रतिनिधिलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलविद्युत, पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन प्रस्ताव गरेका छन् ।
नेपाल-जापान फ्रेन्डसिप समिट २०२५ का लागि आएका फुजिता, बेन्सेस कर्पोरेसन, डिजिटल पाइलट, टोकियो मरिन, फोर्थ भ्यालीलगायत १२ भन्दा बढी कम्पनीका प्रतिनिधिलाई उनले ती क्षेत्रमा उत्साहित भएर लगानी बढाउन आग्रह गरेका हुन् ।
शिष्टाचार भेटका लागि पुगेका उनीहरुलाई अर्थमन्त्री पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताए । नेपाल-जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताका लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्तालाई नेपालमा थप लगानी गर्न उत्प्रेरित गर्ने विश्वास उनले व्यक्त गरे ।
अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका सरोकारलाई सम्बोधन गरी विभिन्न कानुनहरु अध्यादेशमार्फत संशोधन गरी लगानीको लागि अझ सहज वातावरण तयार पारेको पनि जानकारी गराए । समिट आज बिहीबारबाट काठमाडौंमा सुरु भएको छ ।