• Menu

नेपाल-भारत ४०० केभीका दुई प्रसारण लाइन बनाउने प्रक्रिया अघि बढाउँदै विद्युत प्राधिकरण

नेपाल प्रफिट

२०८१ फागुन १५, १२:५६

नेपाल-भारत ४०० केभीका दुई प्रसारण लाइन बनाउने प्रक्रिया अघि बढाउँदै विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपाल-भारत ४०० केभीका दुईवटा प्रसारण लाइन बनाउने प्रक्रिया अघि बढाएको छ । ऊर्जा विकास मार्गचित्र २०८१ को लक्ष्यअनुसार नेपाल-भारत विद्युत् व्यापारको परिमाण बढाउन उच्च भोल्टेज क्षमताका प्रसारण लाइनको निर्माण अघि बढाउन लागिएको हो ।

मार्गचित्रअनुसार ६ वटा प्रसारण लाइन निर्माणलाई तीव्रता दिन लागिएको छ । त्यसमध्ये ४०० केभीका दुईवटा प्रसारण लाइन निर्माणका लागि द्विदेशीय सहमतिअनुसार संयुक्त कम्पनी स्थापनाको प्रक्रिया अघि बढेको हो ।

कम्पनी स्थापनाका लागि ‘संयुक्त उपक्रम तथा सेयर स्वामित्व सम्झौता (जोइन्ट भेन्चर एन्ड सेयर होल्डर एग्रिमेन्ट – जेभी एन्ड एसएचए) को मस्यौदा तयार पारेर प्राधिकरणले भारतीय पक्ष (पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई पठाइसकेको जनाएको छ ।

भारतको पावर ग्रिडबाट सम्झौता स्वीकृत भएपछि ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषदमा लगिनेछ । मन्त्रिपरिषदले स्वीकृतिपछि संयुक्त कम्पनी स्थापनाको बाटो खुल्नेछ ।

माघ २९ मा भारतको नयाँ दिल्लीमा बसेको नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औं बैठकले ४०० केभी दुईवटा प्रसारण लाइन बनाउन एक महिनाभित्र संयुक्त कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो । सहमतिअनुसार इनरुवा-न्यु पूर्णिया ४०० केभी लाइन सन् २०२८/२९ भित्र र दोदोधारा (न्यु लम्की)-बरेली ४०० केभी लाइन सन् २०२९/३० भित्र बन्नेछन् ।

बैठकको निर्णयअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशन अनुरूप प्राधिकरणले संयुक्त कम्पनी स्थापनाको आवश्यक प्रक्रिया अघि बढाएको हो । नेपालतर्फ रहने संयुक्त कम्पनीमा नेपालको ५१ र भारतको ४९ तथा भारतमा रहने कम्पनीमा भारतको ५१ र नेपालको ४९ प्रतिशत सेयर स्वामित्व रहने द्विदेशीय सहमतिमा उल्लेख छ ।