• Menu

एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ फागुन १५ देखि १८ सम्म

नेपाल प्रफिट

२०८१ फागुन ११, १०:२१

एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ फागुन १५ देखि १८ सम्म

पोखरा । एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ फागुन १५ देखि १८ सम्म पोखरामा आयोजना हुने भएको छ । फेस्टिभलको बाह्रौं संस्करणलाई बुकवर्म फाउन्डेसनले आयोजना गर्दैछ ।

अघिल्ला संस्करणहरूमा जस्तै यसपटक पनि फेस्टिभल बाराहीघाट, लेकसाइडमा हुनेछ, जहाँ देश–विदेशका साहित्यानुरागीको जमघट हुनेछ । सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेस्टिभलको उद्घाटन गर्नेछन् ।

एनसेल फाउन्डेसन प्रमुख प्रस्तुतकर्ता रहेको फेस्टिभललाई बुध्द एयरले सम्वर्धन गरेको छ । पोखरा महानगरपालिका प्रवर्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवर्धक छ । त्यस्तै उप–प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकले आयोजकलाई साथ दिनेछन् ।

यसपटक फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तर्क्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन् ।

यसपटक प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत्प्रवचनसँगै फेस्टिभल सुरु हुनेछ । उनी इन्दिरा गान्धी ओपेन युनिभर्सिटीको प्रो-उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपतिसमेत बनेका थिए ।

विद्वत् प्रवचनलगत्तै अध्यात्म र संघर्षमाथि मनिषा कोइराला र विजय कुमारको विशेष संवाद आकर्षणको केन्द्र बन्ने बुकवर्म फाउन्डेसनको विश्वास छ । यसैगरी नेपाली सिनेमाका महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एक हो । हमालको पुस्तक प्रकाशोन्मुख छ ।

उद्यमी एवं लेखक जीवा लामिछानेको बहुप्रतीक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण पनि फेस्टिभलको आकर्षण रहनेछ ।

नेपाली क्रिकेटका ढुकढुकी पारस खड्का हुन् या साहित्यानुरागीबीच चर्चित भूषिता वशिष्ठ, समाजसेवालाई कर्म बनाएका डा. भगवान कोइरालादेखि म्यागी डोएनसम्मका व्यक्तित्वहरूका प्रेरणादायी संवाद फेस्टिभलमा रहनेछन् । म्यागी अमेरिकन समाजसेवी हुन् । सुर्खेतस्थित एक बालगृहको सहसंस्थापक उनी सन् २०१५ को सीएनएन हिरो घोषित भएकी थिइन् ।

नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका दुई सत्रमा रहनेछ । उनको छोटो कथा संग्रह, ‘लिच एन्ड अदर स्टोरिज’माथि उनी र भूषिता वशिष्ठबीच संवाद हुनेछ । उनका कथा र लेखहरू स्टोरी क्वार्टरली, द न्यु योर्क टाइम्स, हफी पोस्ट, द साल्ट लेक ट्रिब्युनलगायतमा प्रकाशित छन् । उनी वेस्टमिन्स्टर विश्वविद्यालय, साल्ट लेक सिटी र युटामा रचनात्मक लेखनविधि पढाउँछन् ।

फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीति, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ, जहाँ दैनिक हजारौँ साहित्यानुरागीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

सिर्जनाको अर्को विधा चित्रकला सधैं फेस्टिभलको आकर्षण बन्दै आएको छ । यस संस्करणमा परम्परागत पौभा चित्रका विश्व प्रसिद्ध कलाकार लोक चित्रकारका चित्र प्रदर्शनीमा राखिनेछन् ।

‘सधैं जस्तै यसपटक पनि हामी शब्दसँगै संगीतको तालमा झुम्नेछौं । परम्परागत धुनदेखि पपसम्म वा यी दुवै विधाका संगीतको मिश्रणले फेस्टिभलका साँझहरूलाई संगीतमय बनाउनेछ । सांगीतिक कार्यक्रमहरूमा प्रोजेक्ट सारंगीअन्तर्गत किरण नेपालीको नेतृत्वमा सामूहिक प्रस्तुति हुनेछ । त्यस्तै नेपाली संगीत जगतका पप–सम्राटका रूपमा परिचित ओमविक्रम विष्टले पनि फेस्टिभललाई गुञ्जायमान बनाउनेछन्,’ विज्ञप्तिमा भनिएको छ ।

परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने सांगीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । काठमाडौं विश्वविद्यालयको संगीत विभागका विद्यार्थीको सामूहिक परियोजनाका रूपमा सुरु भएको यस ब्यान्डको संगीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय संगीतको समिश्रण सुन्न सकिन्छ ।

फेस्टिभलमा वरिष्ठ वामपन्थी नेता एवं नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुनेछ। उमेरले ८९ टेकेका सिंहको यो उपन्यास नेपालमा प्रकाशित सबैभन्दा ठूलो पुस्तक भएको बताइन्छ।

साहित्य, शिक्षा अनि पठन संस्कृतिका लागि उमेर हद हुँदैन । त्यसैले नेपाल लिटरेचर फेस्टिभल बालबालिका तथा किशोरकिशोरीका विचार, रचना, कला र भावना अभिव्यक्तिको सशक्त माध्यम बन्दै आएको छ । यस संस्करणमा  उमेरले भर्खरै ६ वर्ष पुगेकी लेखक भूमिलक्ष्मी पराजुलीको पुस्तक ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक पनि सार्वजनिक हुनेछन् ।

यसपटक पनि फेस्टिभलमा विद्यार्थीसँग पुस्तक, कथा, कविता अनि समग्रमा पठन संस्कृतिका कुरा हुन्छन् । उनीहरूका शिक्षक अनि अभिभावकसँग विद्यालय अनि घरमा शैक्षिक वातावरणबारे विमर्श हुने आयोजकले जनाएको छ । फेस्टिभलले उपलब्ध गराएको यस मञ्च नयाँ पुस्ताका लेखक तथा विचारकहरू तयार पार्ने माध्यम बन्ने बुकवर्मको अपेक्षा छ ।

सुरुवातदेखि नै फेस्टिभलले अग्रज तथा समकालीन लेखकहरूको सहयोग पाएको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले बताए । ‘बाह्रौँ संस्करणसम्म आइपुग्दा हामीले नयाँ पुस्ताका साहित्यकार, लेखक तथा विचारकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित मञ्च तयार पारेका छौँ,’ उनले भने, ‘विद्यालय तहबाटै साहित्यलाई पाठ्यक्रमको अंश बनाउनेदेखि नयाँ पठन संस्कृति विकासमा शिक्षक, अभिभावक तथा अन्य निकायहरूको भूमिकाबारे झकझकाउने हाम्रो प्रयास निरन्तर रहन्छ ।’

विश्वप्रसिद्ध भारतीय लेखक शशी थरूरको पुस्तक ‘ह्वाई आई एम अ हिन्दू’को नेपाली संस्करण लोकार्पणसँगै फेस्टिभल समापन हुनेछ । भारतीय राजनीति, इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक तथा चर्चित लेखक थरूरका कैयौं पुस्तकले विश्वव्यापी चर्चा पाएका छन् ।

सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभल आयोजना हुन थालेपछि नेपालमा वार्षिक रूपमा थुप्रै साहित्यिक महोत्सव हुन थालेको शुक्रबार पोखरामा आयोजना गरिएको प्रेस सम्मेलनमा फेस्टिभलका निर्देशक अजित बरालले बताए । ‘यस्ता महोत्सवले अहिले व्यापकता पाएका छन् । स्कुलदेखि कलेज र वडादेखि गाउँपालिकामा समेत यस्ता साहित्यिक महोत्सव हुन थालेका छन्,’ उनले भने, ‘यही फागुनमा मात्र नेपालमा सातवटा साहित्यिक महोत्सव हुँदै छन् । सुर्खेत, काठमाडौं, पोखरा, धादिङ, काँकरभिट्टा, विराटनगर र टीकापुरमा साहित्य र विचारका महोत्सव गरिँदै छ ।’

फेस्टिभलले हाम्रो ‘पब्लिक डिस्कोर्स’लाई बलियो बनाएको बरालको भनाइ छ । ‘पब्लिक स्पेस पनि फराकिलो तथा जीवन्त बन्दै गएको छ । यसको श्रेय नेपाल लिटरेचर फेस्टिभललाई जान्छ,’ उनले भने ।

एनसेलकी इन्टेरिम मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्काले सञ्चार र प्रविधिबाहेक कला र साहित्यको माध्यमबाट सबैलाई जोड्न कम्पनीको व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेल फाउन्डेसनमार्फत यस उत्सवसँग आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरिन् । ‘कला, साहित्य र संस्कृति हाम्रा पहिचान हुन् । यिनको जगेर्ना गर्नु सबैको जिम्मेवारी हो । नेपाल लिटरेचर फेस्टिभलका सुरुका वर्षहरुमा हाम्रो सहयात्रा एकदमै राम्रो रह्यो । एक दशकपछि पुन: सहकार्य गर्न पाएकोमा हामी अत्यन्तै हर्षित छौं ।’

पोखराका पत्रकार एवं कार्यक्रम सञ्चालक केशवशरण लामिछानेले साहित्य र नेपाल लिटरेचर फेस्टिभलको महत्त्वबारे चर्चा गरे । ‘साहित्यले सामाजिक न्यायको क्षेत्रमा, मूल्य र मान्यता भत्काउने र निर्माण गर्ने काममा सघन भूमिका खेलेको हुन्छ । सँगै यसले अल्पसंख्यक, पिछडिएका वर्गलगायतको भाषा, बोली, पिँधको आवाज र रोदनलाई मूलधारको मुद्दा बनाउने काम पनि गर्छ,’ उनले भने, ‘नेपाली समाज पनि अझ बढी सहिष्णु, सहानुभूतिपूर्ण, स्वतन्त्रतावादी र सभ्य बनोस् भन्ने हाम्रो चाहना छ । त्यही कार्यलाई टेवा पुर्‍याउन नै नेपाल लिटरेचर फेस्टिभल आयोजना गरिएको हो ।’

फेस्टिभल आयोजक सदस्य एवं पत्रकार भरत कोइरालाले इभेन्टहरूको सहर पोखरामा बर्सेनि हुँदै आएको लिटरेचर फेस्टिभलले सहरको संस्कृति र सभ्यता निर्माण थप योगदान पुर्‍याएको विश्वास व्यक्त गरे ।

बुकवर्म फाउन्डेसन एक गैरनाफामूलक संस्था हो । प्रकाशक, पत्रकार र लेखक जो किताबको सास फेर्छन्, खान्छन् र सुत्छन्, उनीहरू नै यस संस्थाका सदस्य हुन् । साहित्य र समाजबबीच खुला बहस गर्नु, पठन संस्कृति विकास र आलोचनात्मक चेतलाई अभिवृद्धि गर्नु नै यस फाउन्डेसनको प्रमुख उद्देश्य हो ।

एनसेल फाउन्डेसनले एनसेलका व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्छ । थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान पुर्‍याउनु फाउन्डेसनको भिजन हो ।

सीएसआरमार्फत विभिन्न परियोजनाहरुमा काम गर्दै एनसेलले विगत दुई दशकमा २ अर्बभन्दा बढीको योगदान गरिसकेको छ । यी परियोजनाहरुले प्रत्यक्ष र अप्रत्यक्ष गरी १ करोड ३० लाखभन्दा बढी मानिसलाई फाइदा पुर्‍याएको एनसेलले जनाएको छ ।