काठमाडौं । सूचना प्रविधिसम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसनबाट यो वर्ष ७६ विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्डबुद्धबाट एमएस्सी आईटीएम, एमबीए, बीबीएम र बीएस्सी आईटीमा ७६ विद्यार्थी दीक्षित भएका हुन् ।
काठमाडौँमा आयोजित कार्यक्रममा लर्डबुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जालान र एसिया प्यासिफिक युनिभर्सिटीका प्रमुख सञ्चालन अधिकृत गुरप्रदीप सिंहले प्रमाणपत्र हस्तान्तरण गरेका छन् । सूचना प्रविधिसम्बन्धी सबैभन्दा पुरानो कलेजको २६ वर्षको इतिहासमा १३ हजारभन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन् । एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनले मलेसियामा फाइभ स्टार र्याङक प्राप्त गर्न पनि सफल भएको छ ।
लर्डबुद्ध एजुकेसनले सिकाएको सीपले जीवनमा आउने अन्य जटिल परिस्थितिसँग लड्न हरेक विद्यार्थी सक्षम हुनेमा आफू आशावादी रहेको अध्यक्ष जालानले बताए । प्रमाणपत्र वितरण कार्यक्रममा उनले भने, ‘तपाईंहरूको जीवनको एउटा खुड्किलो आज पार भएको छ । आगामी दिनमा जुध्न पर्ने हरेक परिस्थितिमा यहाँ सिकेको सीप प्रयोगमा आउनेमा आशावादी छु ।’
कार्यक्रममा एसिया प्यासिफिक युनिभर्सिटीका प्रमुख सञ्चालन अधिकृत गुरप्रदिप सिंहले एआई केवल प्रवृत्ति भएकाले मानवमा रहेको भावना, अनुभूति र आत्मीयतालाई एआईले कहिल्यै प्रतिस्थापन गर्न नसक्ने बताए । उनले मानवीय पक्ष, भावना र संवेदनशीलतालाई जोगाउने प्रयास गर्दै जान दीक्षित विद्यार्थीलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अर्थतन्त्रको संवाहकको क्षेत्रका रूपमा लिइने सूचना प्रविधिको क्षेत्रमा विद्यार्थीलाई स्वागत गरे । उनले लर्डबुद्ध एजुकेसनलाई नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा आईटी मिटिङ, सेमिनार र एक्स्पो गर्न आग्रह गरे । उनले फाउन्डेसनबाट उत्पादन भएका जनशक्तिको रोजगारीको व्यवस्थामा पनि जोड दिए ।