• Menu

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

नेपाल प्रफिट

२०८१ फागुन ४, १६:१९

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच सम्झौता भएको छ ।

औषधि व्यवस्था विभागमा महासंघ र मन्त्रालयबीच यससम्बन्धी सम्झौता गत शुक्रबार भएको स्वास्थ्य तथा जनसंख्यामन्त्रीको निजी सचिवालयले आज जनाएको छ ।

अब महासंघबाट यो रोगको उपचारका लागि आवश्यक औषधि प्राप्त हुने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउने निजी सचिवालयले आज जारी गरेको प्रेसनोटमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार हाल मुलुकमा ९०० जना यो रोगका बिरामीका रुपमा पहिचान भएका छन् ।

विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता बिरामी पाँच हजार रहेका अनुमान गरेको छ । २०७८ सालको जनगणनामा २।२ प्रतिशतमा अपाङ्गता देखिएकामध्ये ०।८ प्रतिशतमा हेमोफिलिया भएको हुनसक्ने ठानिएको छ ।