काठमाडौं । बैंक तथा वित्तीय संस्थाले दिने कर्जाको ब्याज निकै घटिसक्दा पनि घरजग्गा कारोबारमा भने कुनै सुधार आएको छैन । बैंकको ब्याजदर एकल अंकमा झरिसकेको छ तर घरजग्गा क्षेत्रमा भने खासै उत्साह नआएको तथ्यांकले देखाउँछ ।
घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना र गत वर्ष २०८०/८१ को ७ महिनाको कारोबार करिब उस्तै छ । गत वर्ष साउनदेखि माघसम्ममा २ लाख ७८ हजार ९२३ वटा लिखत पारित भएकोमा चालु आवको सोही अवधिमा २ लाख ७८ हजार २७८ वटा लिखत पारित भएका छन् ।
राजस्व संकलन भने बढेको छ । गत आवको सोही अवधिको तुलना चालु आवको सात महिनामा राजस्व संकलनमा झन्डै १४ प्रतिशतले वृद्धि भएको हो । चालु आवको माघ मसान्तसम्म २४ अर्ब ७१ करोड राजस्व संकलन भएको विभागले जनाएको छ । गत आवको सोही अवधिमा २१ अर्ब ६५ करोड राजस्व संकलन भएको थियो ।
पुसको तुलनामा माघमा पनि राजस्व संकलनमा गिरावट आएको छ । माघमा तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ रुपैयाँ राजस्व संकलन भएको छ । पुसमा चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजस्व संकलन भएको थियो । विभागका अनुसार मंसिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ रुपैयाँ राजस्व प्राप्त भएको थियो । माघमा कुल ४६ हजार ६९ वटा लिखत पारित भएकोमा पुसमा त्यो संख्या ४८ हजार एक सय ५६ थियो ।
काठमाडौँ उपत्यकाभित्रका नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व संकलन गरेको छ । लगनखेलले ३३ करोड ७४ लाख राजस्व संकलन गरेको हो ।
यस्तै, माघमा डिल्लीबजार मालपोत कार्यालयले २६ करोड ९२ लाख, कलंकी मालपोतबाट २६ करोड एक लाख, मालपोत कार्यालय चाबहिलले २० करोड ८० लाख र भक्तपुर मालपोत कार्यालयले २४ करोड ४२ लाख राजस्व संकलन गरेको विभागले जनाएको छ ।