• Menu

अनेक विकल्प खोजेर भए पनि अध्यादेश पारित गर्छौं : एमाले महासचिव

नेपाल प्रफिट

२०८१ फागुन २, शुक्रबार १८:१२

अनेक विकल्प खोजेर भए पनि अध्यादेश पारित गर्छौं : एमाले महासचिव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले ल्याएका अध्यादेश कसैले विरोध गर्दैमा नरोकिने बताएका छन् ।

एमाले विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको ‘नेपालका लागि सूचना प्रविधिमा आधारित उद्यमशीलता : आर्थिक समृद्धिको नयाँ बाटो’ विषयक अन्तर्क्रियामा उनले मुलुकमा सुशासनका लागि अध्यादेश ल्याइएकाले कसैले विरोध गर्दैमा नरोकिन जिकिर गरे ।

महासचिव पोखरेलले हरेक विषयको विकल्प हुने र अध्यादेश पारित गर्न पनि उपयुक्त विकल्प प्रयोग गरिने धारणा राखे । ‘अध्यादेशको विरोध गर्दैमा त्यो कोसिस असफल हुन्छ भन्ने नठाने हुन्छ किनकि प्रमुख पार्टीले सोचेरै यो काम गरिएको हो । त्यस अर्थमा विधेयकलाई जसरी पनि टुग्याउँछौँ,’ उनले भने, ‘कसैले विरोध गर्दैमा विधेयक रोकिनेवाला छैन । कुनै पनि विकल्प प्रयोग गरेर त्यसलाई पारित गर्छौं ।’

सरकारले अध्यादेशका माध्यमबाट सूचना प्रविधि क्षेत्रलाई पनि सम्बोधन गरेको उनले बताए । अध्यादेशमा कानुनको स्पष्ट व्याख्या गरिएकाले नियमावली आवश्यक नपर्ने र आवश्यक परे सरकारले चाँडै त्यो काम पनि अगाडि बढाउने पोखरेलले स्पष्ट पारे ।

‘मुलुकमा उत्पादनको सम्भावना हेरेर सूचना प्रविधिमा मात्र विदेशमा लगानी गर्न दिइएको हो । सूचना प्रविधि क्षेत्रमा कानुन अभावले केही समस्या भए पार्टीमार्फत सरकारसमक्ष सुधारको प्रक्रिया अगाडि बढाउँछौँ । अध्यादेशले सुधारका लागि पहल गरेको छ,’ उनले भने ।

कार्यक्रममा विभागका प्रमुख टंक कार्कीले सूचना प्रविधिमा भएका अस्पष्ट कानुनलाई सरकारले संशोधन गर्नुपर्ने बताए ।