काठमाडौं । नेपाल सरकार भ्रष्टाचार न्यूनीकरणमा थप असफल हुँदै गएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा भ्रष्टाचार गत वर्षभन्दा बढेको हो ।
भ्रष्टाचार अवधारणा सूचकांकअनुसार नेपालले यो वर्ष १०० मा ३४ अंकमात्र पाएको छ । नेपालले पाएको अंक गत वर्षको भन्दा कम हो । गत वर्ष नेपालले ३५ अंक पाएको थियो । सूचकांकमा १०० अंकले शून्य भ्रष्टाचार र ० अंकले अति भ्रष्टलाई जनाउँछ ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अनुसार मूलत: आयात, निर्यात, सेवा, कर, ठेक्का व्यवसाय जस्ता सरकार र व्यावसायिक क्षेत्र सम्बन्धित कार्यका साथै न्यायिक निर्णयमा भ्रष्टाचार बढेको छ । गणतान्त्रिक नेपालको संविधान २०७२ सालदेखि लागू भई तीन तहका सरकार बनेको करिब ८ वर्ष बितिसक्दा पनि भ्रष्टाचार कम गर्नमा नेपाल सफल नभएको जनाइएको छ ।
भ्रष्टाचारमा सुधार ल्याउन राजनीतिक क्षेत्रको सदाचारप्रतिको प्रतिबद्धतामा अभिवृद्धि, सरकारी क्षेत्रमा हुने घुसखोरी र भ्रष्टाचारमाथि निष्पक्ष कारबाही, स्वच्छ न्यायिक प्रक्रियाको सुनिश्चितता र व्यावसायिक क्षेत्रसँग सम्बन्धित भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्न जरुरी रहेको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ ।
भ्रष्टाचार अवधारणा सूचकांकअनुसार डेनमार्क विश्वमै सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको सूचीमा छ । डेनमार्कले ९० अंक पाएको छ । त्यस्तै ८ अंक पाएर सबैभन्दा बढी भ्रष्टाचार हुने सूचीको पुछारमा दक्षिण सुडान छ ।
दक्षिण एसियामा भुटान ७२ अंकसहित सबैभन्दा माथि छ । त्यस्तै भारत र माल्दिप्सले ३८-३८, श्रीलंकाले ३२, पाकिस्तानले २७, बंगलादेशले २३ र अफगानिस्तानले १७ अंक पाएका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले १८० देशमा भ्रष्टाचारको अवस्था अध्ययन गरेको जनाएको छ ।