• Menu

अधिराजकुमारी सोफियाद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन

नेपाल प्रफिट

२०८१ माघ २३, बुधबार १७:०६

अधिराजकुमारी सोफियाद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफिया बुधबार कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल’ बाट प्रदान भइरहेका सेवा एवं सेवाग्राहीसँग भेटघाट गरेकी छिन् ।

नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित सो अस्पतालले २०७४ सालदेखि सेवा सुरुआत गरेको थियो । अस्पतालले बेलायतको विकास साझेदार संस्था ‘रिड्ली आइ फाउण्डेसन’का सहयोगमा नेपालका विकट उच्च पहाडी क्षेत्रमा निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेको छ ।

अधिराजकुमारी सोफिया ‘द इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी) को ‘ग्लोबल एम्बेस्डर’ विश्व सद्भावनादूत हुन् । विश्वबाट नै उपचारपछि निको हुने अन्धोपन निवारण गर्ने अभियानमा सक्रिय उनले आँखा स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा विश्वव्यापी रुपमा कार्य गर्दै आएकी छिन् । ‘आइएपिबी’ विश्वका आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत संघ-संस्थाको साझा छाता संगठन हो ।

सो अवसरमा अधिराजकुमारी सोफियाले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिको उच्च सराहना गर्दै आगामी दिनमा नेपालले आफ्नो प्राथमिक स्वास्थ्य प्रणालीमा आँखा उपचार सेवालाई पनि अझ बलियो बनाउन सुझाव दिएको जनाइएको छ ।

नेपाल नेत्रज्योति संघले आफ्ना सञ्जालमार्फत नेपालमा आँखा उपचार सेवा प्रवाह गरिरहेको र वार्षिक संघको सञ्जालमार्फत हजारौँ आँखाका बिरामीले निःशुल्क आँखा उपचार प्राप्त गरिरहेका छन् ।

नेपालमा जनस्वास्थ्य समस्याका रुपमा रहेको ट्रकोमा रोगलाई निवारण गर्न सफल भएको जानकारीबाट अधिराजकुमारी सोफिया अत्यन्तै प्रभावित समेत भएको संघका अध्यक्ष प्रा. डा. चेतराज पन्तले जानकारी दिए ।

अध्यक्ष प्रा. डा. पन्तले राजकुमारीको सोफिया नेपाल भ्रमणका क्रमममा कीर्तिपुर आँखा अस्पतालको समेत अवलोकन गरेकोमा धन्यवाद व्यक्त गरेको थियो ।

सो अवसरमा संघका महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र, कीर्तिपुर आँखा अस्पताल व्यवस्था समितिका अध्यक्ष प्रा .डा. सविना श्रेष्ठ र मेडिकल निर्देशक डा एरिक वैद्यले अस्पतालका सेवाका बारेमा अधिराजकुमारी सोफियालाई जानकारी गराएको थियो ।

संघले नेपालका ६७ जिल्लामा आफ्नो स्थायी आँखा उपचार केन्द्रको स्थापना गरिसकेको छ । स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । हाल संघ अन्तर्गत देशभरमा २८ आँखा अस्पताल, एक सय ६० आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखा सञ्चालनमा रहेका छन् ।

संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्ड र अधिराजकुमारी डचेस सोफी मंगलबार नेपाल भ्रमणका आएका थिए ।