• Menu

नविल बैंकसँगको सहकार्यमा टोखामा कर्जा सदुपयोगसम्बन्धी अन्तर्क्रिया

नेपाल प्रफिट

२०८१ माघ ६, १०:३६

नविल बैंकसँगको सहकार्यमा टोखामा कर्जा सदुपयोगसम्बन्धी अन्तर्क्रिया

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा कर्जा सदुपयोगिताबारे अन्तर्क्रिया गरिएको छ । नविल बैँकसँगको सहकार्यमा टोखा विकास अनुसन्धान समाज टोखा–१० को आयोजनामा शनिबार एकदिने कर्जा सदुपयोगितासम्बन्धी अन्तर्क्रिया गरिएको हो ।

अन्तर्क्रियामा कर्जा किन लिने ? कति लिने ? कहाँबाट लिने ? जे कामका लागि लिइएको हो, सोही काममा प्रयोग गर्नुपर्ने, प्रयोग नगर्दा हुने समस्या सम्बन्धमा निक्षेपकर्ता संस्था र ऋणीहरुबीचमा छलफल भएको छ ।

नविल बैँकका अध्यक्ष उपेन्द्र पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ऋषि वाग्ले र अनुराग ज्ञवालीले कर्जा सदुपयोगितासम्बन्धी प्रशिक्षण दिएका छन् ।

छलफलबाट प्राप्त राय सुझाव सम्बन्धित बैँक तथा वित्तीय संस्थालाई प्रतिवेदनमार्फत उपलब्ध गराउने टोखा विकास अनुसन्धान समाज टोखा–१० का अध्यक्ष एवं नेपाल राष्ट्र बैँकका पूर्वसञ्चालक रामजी रेग्मीले जानकारी दिए ।

यस्तै, अन्तर्क्रियामा उठेका राय सुझावलाई निक्षेपकर्ता र ऋणीलाई कर्जा सदुपयोगिताका सम्बन्धमा कायम रहेका नीतिगत व्यवस्था एवं निर्देशनहरुबारे जानकारी गराउने बताइएको छ । छलफलबाट उठेका प्रश्नको समाजका अध्यक्ष एवं राष्ट्र बैँकका पूर्वसञ्चालक रामजी रेग्मीले उत्तर दिएका थिए ।