• Menu

घरजग्गा कारोबारमा लगातार सुधार

नेपाल प्रफिट

२०८१ माघ ५, शनिबार ०६:५६

घरजग्गा कारोबारमा लगातार सुधार

काठमाडौँ । घरजग्गाको कारोबार विस्तारै लयमा फर्किन थालेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिकको तुलनामा मंसिरमा र मंसिरको तुलनामा पुसमा घरजग्गाको कारोबारमा सुधार आएको हो ।

विभागका अनुसार मंसिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ रुपैयाँबराबर राजस्व संकलन भएकोमा पुसमा चार अर्ब २५ करोड २२ लाख २१ हजार ७७९ रुपैयाँ राजस्व प्राप्त भएको छ । कात्तिकमा देशभर घरजग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ रुपैयाँबराबर राजस्व संकलन भएको थियो ।

पुसमा सेवा करबाट ३० करोड ४३ लाख ४४ हजार ६६५ रुपैयाँ संकलन भएको छ । यस्तै, रजिस्ट्रेसन दस्तुरबाट दुई अर्ब ६८ करोड ७८ लाख २६ हजार १४५ र पुँजीगत लाभकरबाट एक अर्ब ६० करोड ८३ लाख २८ हजार १७२ रुपैयाँ प्राप्त भएको छ ।

काठमाडौँ उपत्यकाभित्रका नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व संकलन गरेको छ । सो कार्यालयले ४० करोड ९४ लाख ४२ हजार ७३२ रुपैयाँ राजस्व संकलन गरेको हो । ललितपुरमा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि भएको हो ।

यस्तै, पुसमा मालपोत कार्यालय गोटीखेल ललितपुरले दुई लाख ८९ हजार ८४, मालपोत कार्यालय भक्तपुरले २९ करोड ७६ लाख १३ हजार २७१, मालपोत कार्यालय डिल्लीबजारले २१ करोड ९० लाख ९९ हजार ६८५ रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागका अनुसार मालपोत कार्यालय चाबहिलले २२ करोड ९३ लाख ८० हजार ३६७, कलंकी मालपोतले २१ करोड ९३ लाख ७१ हजार ७९२, मालपोत कार्यालय साँखुले १० करोड ३२ लाख ५९ हजार ६२२, मनमैजुले ६ करोड ६८ लाख २९ हजार ५६१, मालपोत कार्यालय टोखाले ६ करोड ७७ लाख ३४ हजार ६९७ रुपैयाँबराबर राजस्व संकलन गरेको छ ।

यस्तै, मालपोत कार्यालय विराटनगरले १६ करोड ११ लाख तीन हजार ४८१ र मालपोत कार्यालय इनरुवा सुनसरीले १० करोड ९३ लाख ७४ हजार २५७ रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।