• Menu

इप्पान रजत जयन्ती

फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री

नेपाल प्रफिट

२०८१ माघ ४, शुक्रबार १३:५०

फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपतका ठाउँहरु आफैँ बनाइने भएकाले बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताएका हुन् । सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र तयार गरेको छ ।

‘हामीसँग आठवटा औद्योगिक क्षेत्र छन् । धौबादी फलाम खानी र मल कारखाना खोल्दैछौँ । दैलेखमा ग्याँस उत्पादन हुँदैछ । ध्वस्त भएका उद्योगहरुले पुनर्जीवन पाउँदैछन् । ती सबैमा ऊर्जा खपत हुनेछ,’ उनले भने ।

ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको जानकारी उनले दिए । ‘यस क्षेत्रमा नयाँ–नयाँ सम्भावनाको खोजी गर्नुपर्नेछ । देशलाई आधुनिकीकरण र विकास गर्दै अध्याँरोबाट उज्यालोमा लैजाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरुको योगदानको उच्च मूल्यांकन र प्रशंसा गर्दछु,’ प्रधानमन्त्रीले भने, ‘तपाईंहरु लगानी गर्नुस्, लगानी खोन्दै अरुलाई खोला दिइरहनु पर्दैन ।’

प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको बताए । राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा)तर्फ इंगित गर्दै उनले ‘व्यवस्था बदलियो, अवस्था बदलिएन’ भन्नेहरुलाई ऊर्जा उत्पादकहरुले सफलताका कथा देखाएर अवस्थामा परिवर्तन ल्याएको जिकिर गरे ।

राजनीतिक सन्दर्भमा प्रधानमन्त्री ओलीले सरकारले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको प्रस्टीकरण दिए । आगामी १५ दिनपछि हुने संसदको अधिवेशनमा पेस गरी दुई महिनाभित्र ती अध्यादेश पारित गरिने उनले बताए ।

आयातीत फोसिल फ्युलको कम प्रयोग गर्दै नवीकरणीय ऊर्जाको प्रयोग बढाएर मुलुकलाई समृद्ध बनाएरै छाड्ने दृढता ओलीले व्यक्त गरे ।