काठमाडौं । होटल संघ नेपालले स्थापना दिवसको अवसर पारेर माघ २ गते नेपाल सत्कार दिवस २०२५ मनाएको छ । गत वर्षबाट सुरु गरेको सत्कार दिवस प्रत्येक वर्ष मनाउने होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताए ।
अध्यक्ष शाहले यस दिवसमा होटल क्षेत्रमा हासिल भएका उपलब्धि, सामना गरिएका चुनौती र भावी दिनको योजना तथा कार्यक्रमहरुको प्रस्तुति गर्न तथा होटल क्षेत्रले देश, जनता, आर्थिक विकास र समग्र पर्यटनबाट भएको र हुन सक्ने समृद्धिको लेखाजोखा हुने जानकारी दिए ।
राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकले देशमा १ लाख ४२ हजारभन्दा बढी होटल तथा रेस्टुरेन्टहरु सञ्चालनमा रहेको, १ लाख १६ हजारभन्दा बढी होटल कोठा उपलब्ध रहेको, नेपालमा रेस्टुरेन्टहरुले २२ लाख ग्राहकलाई सेवा दिन सक्ने क्षमता रहेको उल्लेख गरेको तथ्यांक उनले प्रस्तुत गरे ।
‘तथ्यांकले देखाए जस्तै प्रत्येक महिना जस्तो खुलेका अन्तर्राष्ट्रिय ब्रान्डका ठूला तारे होटलले नेपालमा झन्डै ३५ लाख पर्यटकलाई स्तरीय सेवा प्रदान गर्न सक्ने क्षमता विकास गरेको तथ्यले नेपालको पर्यटन बजारमा बढ्दो उत्साहवर्धक आपूर्तिको स्थिति इंगित गर्छ,’ उनले भने । तर, त्यसको अनुपातमा विद्यमान मागको अवस्था करिब एक तिहाइको हाराहारीमा मात्र रहेको सन् २०२४ मा हवाई मार्गबाट आउने पर्यटक संख्या ११ लाख ४७ हजारको तथ्यांकले दर्शाएको उनले बताए ।
अस्तव्यस्त राजमार्ग भएर १०–१२ घण्टा लगाएर काठमाडौंबाट २ सय किलोमिटर दूरीको पोखरा पुग्ने बाध्यता रहेको उनले जानकारी दिए । सोही कारण पनि धेरै बिदा मनाउन रमाइलो गर्न आउने पर्यटक तनाव खप्न तयार नदेखिएको उनले स्पष्ट पारे । गत वर्ष भएका हवाई तथा सडक दुर्घटनाहरुका साथै युरोपियन युनियनको कालोसूचीमा नेपाली एयरलाइन्सहरु रही रहेकाले समस्या झन् बढेको अध्यक्ष शाहले बताए ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संघबाट प्रकाशित नेपाल होटल इयर बुक विमोचन गर्दै यस किसिमको सत्कार दिवसले सिंगो पर्यटन क्षेत्र तथा सरोकारवालालाई एकै थलोमा राखेर मुलुकको समग्र पर्यटनको विषयवस्तु यकिन हुने धारणा राखे ।
राज्यले पर्यटन क्षेत्रलाई नजिकबाट हेरेको र मुलुकको पर्यटनलाई सहज बनाउन र पर्यटक आवागमन बढाउन मन्त्रालय तथा सिंगो सरकार लागि परेको उनले दाबी गरे । निजी क्षेत्रसँगको समन्वयबिना पर्यटनलाई अगाडि बढाउन नसकिने जिकिर गर्दै उनले मन्त्रालयबाट हुने हरेक क्रियाकलापमा निजी क्षेसँग सहकार्य गर्दै आएको उल्लेख गरे ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष प्रवीणबहादुर पाण्डेले सन् २०२५ र २०२६ मा खुल्ने क्रममा रहेका ठूला तथा साना होटलले अझ बढी राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा योगदान पुर्याउने धारणा राखे । ‘नेपाली ब्रान्ड विदेशमा लैजाने क्रमको सुरुवात भएको छ भने विदेशी ब्रान्डले पनि नेपाल साँच्चिनै प्रकृतिले भरिएको सुन्दर मुलुक रहेको संसारभर सकारात्मक सन्देश फैलाउन सक्नेछन्,’ उनले भने ।
उपाध्यक्ष पाण्डेले कैयन् होटल र लजहरु बिनादर्ता सञ्चालनमा रहनु दुःखद् विषय भएको बताए । ‘यसबाट राज्यले ठूलो राजस्व गुमाउनुका साथै राज्य र विभिन्न संघसंस्थाहरुबाट गरिएको विश्वव्यापी प्रवर्धनबाट नेपाल भित्रिएका पर्यटक दर्ता नभएका होटल र लजमा बस्दा कानुनी दायरामा रही सञ्चालन भएका होटललाई अन्याय भएको हामीले महसुस गरेका छौं,’ उनले भने ।
कार्यक्रममा विभिन्न समयमा आयोजना गरिएका भ्रमण वर्षका संयोजकहरुलाई सम्मानसमेत गरिएको थियो । नेपाल भ्रमण वर्ष १९९८ का संयोजक कर्ण शाक्य, नेपाल पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्य र नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यलाई सम्मान गरिएको हो । त्यस्तै मुलुकमा रैथाने खाना प्रवर्धनमा सघाउ पुर्याउने मुर्धन्य सेफहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।