मोरङ । विराटनगरको डिग्री कलेजको मैदानमा माघ ११ देखि सुरु हुने आठौँ संस्करणको विराट एक्स्पोले रोजगारीको खोजीमा भौँतारिएका युवा र दक्ष कामदारको खोजीमा रहेका उद्योगी व्यवसायीलाई रोजगार कोशी पेभिलियनमा जमघट गराउनेछ ।
त्यो जमघटमा झन्डै दुई हजार युवालाई करिअर काउन्सेलिङ गरेर प्रमाणपत्र दिनेदेखि करियरको मार्गवृत्तिको अवस्था देखाउँदै उपलब्ध रोजगारीका अवसरमा सम्पर्क स्थापित गर्ने एक्स्पोको लक्ष्य छ ।
त्यतिमात्र नभएर एक्स्पोले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले विकास गरेको अन्तर्राष्ट्रिय पेसागत मापदण्डका आधारमा काम र कामदार खोजी सहजता प्रदान गर्न जबब्रिज पोर्टलको व्यवस्था गरेर डिजिटल कनेक्ट हुने व्यवस्था मिलाउने तयारी गरेको छ ।
त्यसका लागि एक्स्पो आयोजक उद्योग संगठन मोरङले एक्स्पोमा रोजगार कोशी पेभिलियनको व्यवस्था गर्ने तयारी गरेको छ । त्यो पेभिलियन विशेष गरेर हातमा शैक्षिक प्रमाणपत्र र सीप बोकेर रोजगारीका लागि भौँतारिएका युवालाई दक्ष कामदार र कर्मचारीको खोजीमा रहेका रोजगारदाता उद्योगी व्यवसायीसँग भेट गराएर रोजगारीका अवसर सिर्जना गर्नमा लक्षित हुने एक्स्पो आयोजक उद्योग संगठन मोरङको छ ।
विराटनगरमा अहिलेसम्म नाफामूलक औद्योगिक र व्यापारिक मेला महोत्सवमात्र हुँदै आएको इतिहास छ । त्यो इतिहासलाई एक्स्पो आयोजक उद्योग संगठन मोरङले चिर्दै यस पटकदेखि डिजिटल कोशी ब्रिजिङ इनोभेसन एन्ड इन्भेस्टमेन्ट थिममा एक्स्पो आयोजना गर्दै छ ।
एक्स्पोले यसपटक विशेषगरी युवालाई उपयुक्त करिअर काउन्सेलिङ गरिनुपर्छ भन्ने विषयलाई मुख्य रुपमा प्रवर्धन गर्ने प्रयत्न स्वरुप रोजगार कोशी पेभिलियनको व्यवस्था गरेको हो ।
यस पेभिलियनमा हस्पिटालिटी, आईटी र इलेक्ट्रिकलका क्षेत्रमा एक्स्पो अवधिमा १८ सय जनालाई प्रत्यक्ष तालिम दिने, प्रमाण पत्र दिने, करियरको मार्गवृत्तिको अवस्था देखाउने र उपलब्ध रोजगारीका अवसरमा सम्पर्क स्थापित गर्ने कार्यक्रम छ ।
हस्पिटालिटी अन्तर्गत वारिष्ठा र त्यसअन्तर्गत कफी बनाउने तालिम, आईटीमा सिसिटिभी बनाउने र इलेक्ट्रिोनिकमा मोबाइल मर्मतको तालिमका सबै पूर्वाधारसहित प्रत्यक्ष तालिम सञ्चालन गरिनेछ । एक्स्पो अवधिमा हरेक दिन दुई घण्टा अवधिको तालिम दिनहुँ तीन सिफ्टमा सञ्चालन गरिनेछ ।
तालिमपछि प्रमाण पत्रसहित करियर ट्रि मार्फत आगामी दिनको करियरको बाटो देखाउने सचित्र प्रमाण पत्र पनि उपलब्ध गराइनेछ । प्रत्येक दिन विज्ञहरुबाट करियर काउन्सेलिङको कक्षा लिइने व्यवस्था मिलाइनेछ ।
एक्स्पोकै अवसरमा आयोजक उद्योग संगठनले तालिम लिएका प्रशिक्षार्थीका लागि आईएलओले विकास गरेको अन्तर्राष्ट्रिय पेसागत मापदण्डका आधारमा काम र कामदार खोजी सहजता प्रदान गर्न जबब्रिज पोर्टल राखी डिजिटल कनेक्ट हुने व्यवस्था मिलाउनेछ ।