• Menu

सरकारी निकायबीचको समन्वय र सहयोगको अभावमा सडक निर्माण ढिला हुनु हुँदैन : मन्त्री दाहाल

नेपाल प्रफिट

२०८१ पुस २५, १६:१०

सरकारी निकायबीचको समन्वय र सहयोगको अभावमा सडक निर्माण ढिला हुनु हुँदैन : मन्त्री दाहाल

झापा : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक किनाराका विद्युतका पोलका कारण राजमार्ग विस्तारमा ढिलाइ मान्य नहुने बताएका छन् ।

पूर्व-पश्चिम राजमार्ग विस्तार आयोजनाको पूर्वीखण्डको निरीक्षणका क्रममा उनले सरकारी–सरकारी निकायबीच समन्वय र सहयोगको अभावले निर्माण कार्य रोकिन नहुने बताएका हुन् ।

बिहीबार झापा र मोरङका विभिन्न खण्डमा जारी राजमार्ग विस्तार कार्यको निरीक्षण गर्दै उनले विकास निर्माण कार्यको सवाल कुनै एक मन्त्रालय वा कार्यालयको मात्र नभएकाले सबै निकायबीच दर्विलो समन्वय आवश्यक रहेकोमा जोड दिए ।

‘कतिपय ठाउँमा रुख कटानको समस्याले राजमार्ग विस्तार कार्य रोकिन पुगेको थियो तर त्यसलाई एक हदसम्म हामीले समाधान गरेका छौं,’ मन्त्री दाहालले भने, ‘वन संरक्षण एवं विद्युत, खानेपानी तथा सडक विस्तार कुनै एक कार्यालय वा निकायको मात्र विषय होइन, हामी सबैको साझा सरोकारका विषय हुन् ।’

विद्युतका पोल तथा तार नसार्दा राजमार्ग विस्तारमा ढिलाइ हुन नदिन केन्द्रीकृत ठेक्काको साटो आवश्यक परेका ठाउँमा तुरुन्तै हटाउन र सार्न सकिने प्रबन्ध गर्नुपर्नेमा उनको जोड छ ।

‘पूर्वपश्चिम राजमार्ग विस्तारमा मात्र होइन, अन्य सडक निर्माण र विस्तारका क्षेत्रमा पनि विद्युतका पोल नसारिँदा काममा ढिलाइ हुनु भएन, तपाईंहरु पहल गर्नुस्, आवश्यक परेमा मन्त्रालयले समन्वय गर्नेछ,’ सडक विभाग एवं परियोजना निर्देशकहरुलाई उनले भने ।

पूर्वपश्चिम राजमार्ग विस्तार कार्य सरकारको उच्च प्राथमिकताको आयोजना भएको मन्त्री दाहालले बताए । ‘यसलाई तीव्र र चुस्त बनाउन जरुरी छ,’ उनले भने ।

यो राजमार्गले नेपाललाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने भएकाले नेपालको आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा पुर्‍याउने मन्त्री दाहालले बताए । उनले बिहीबार झापाको पाडाजुंगीदेखि दमक हुँदै मोरङको उर्लाबारी, पथरी, कानेपोखरी तथा विराटचोक क्षेत्रमा भइरहेको सडक विस्तार कार्यको निरीक्षण गरेका छन् ।