• Menu

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तत्काल अघि बढाउन संसदीय समितिको निर्देशन

नेपाल प्रफिट

२०८१ पुस २५, १५:०८

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तत्काल अघि बढाउन संसदीय समितिको निर्देशन

काठमाडौं । बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तत्काल अघि बढाउन संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार बसेको बैठकले निजगढ विमानस्थल निर्माण प्रक्रिया तत्काल सुरु गर्न निर्देशन दिएको हो ।

समितिको निर्णयमा ‘राष्ट्रिय महत्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने’ उल्लेख छ ।

त्यसअघि समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल भएको थियो । छलफलपछि वायुसेवा निगमको व्यावसायिक योजनालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउन पनि समितिले निर्देशन दिएको छ ।

त्यस्तै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरूबीच सम्झौता, समन्वय एवं पहलकदमी लिन पनि समितिले निर्देशन दिएको छ ।