काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको पाँचौं समीक्षा मिसन टोलीसँग शिष्टाचार भेटका क्रममा उनले अर्थतन्त्रमा सुधार भइरहेको र नीतिगत तथा संरचनागत सुधारले थप परिणाम ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखापरेका मुद्दालाई ऐन कानुन तथा नीति र संवादबाट सम्बोधन गर्न र सुधारका काम अघि बढाउन सरकारले विशेष ध्यान दिएको जानकारी गराए । उनले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझावलाई राष्ट्रिय सन्दर्भ र आवश्यकताअनुसार अघि बढाउने स्पष्ट पारे ।
अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सहकार्यमा पाँचौं समीक्षाको सफलता निकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले त्यस क्रममा नेपाली पक्षबाट पर्याप्त सहकार्य एवं समन्वय हुने विश्वास व्यक्त गरे । उनले अर्थतन्त्र सुधारका सवालमा उठेका विषयबारे सम्बन्धित निकायसँग थप संवाद र परामर्श गर्न समीक्षा मिसनलाई आग्रह पनि गरे ।
कोषकी अर्थशास्त्री सार्वत जहानको नेतृत्वको अन्तर्राष्ट्रिय मुद्रा कोषको टोलीले विगतका सुधारका कार्यक्रमको समीक्षा जारी रहेको र आगामी दिनका लागि गृहकार्यमा रहेको जानकारी गराएको छ ।