• Menu

सिबिफिनको अध्यक्षमा पुन: उपेन्द्र पौडेल

नेपाल प्रफिट

२०८१ पुस २२, १६:५०

सिबिफिनको अध्यक्षमा पुन: उपेन्द्र पौडेल

काठमाडौं । नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा दोहोरिएका छन् । सिबिफिनको शुक्रबार सम्पन्न पाँचौँ वार्षिक साधारण सभा पौडेललाई दोस्रो कार्यकालका लागि पौडेलललाई सर्वसम्मत चयन गरेको हो ।

सिबिफिनको विधानअनुसार वाणिज्य बैंक तर्फबाट अध्यक्ष, महासचिव, कोषाध्यक्ष र सात सदस्यसहित १० जना, विकास बैंक तर्फबाट वरिष्ठ उपाध्यक्ष, सचिव र दुई सदस्यसहित चार जना र फाइनान्स कम्पनी तर्फबाट उपाध्यक्ष, सहकोषाध्यक्ष र एक सदस्यसहित तीन जना गरी १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।

नवनिर्वाचित पदाधिकारीहरुमा पौडेल अध्यक्ष, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय वरिष्ठ उपाध्यक्ष, रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली उपाध्यक्ष, हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ महासचिव र एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल कोषाध्यक्ष, साइन रेसुंगा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल सचिव र गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकी सहकोषाध्यक्ष चयन भएका छन् ।

त्यस्तै कार्यकारी सदस्यहरुमा प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला, ग्लोबल आईएमई बैंकका सञ्चालक राधेश पन्त, एनएमबी बैंकका अध्यक्ष मनोजकुमार गोयल, नेपाल बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी, एभरेस्ट बैंकका अध्यक्ष डा. बालगोपाल वैद्य, लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, कुमारी बैंकका सञ्चालक राजाराम खड्का, लुम्बिनी विकास बैंकका अध्यक्ष चिन्तामणि भट्टराई र प्रोग्रेसिप फाइनान्सका अध्यक्ष लक्ष्मीप्रसाद महर्जन छन् ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको वर्तमान स्थिति र आवश्यकताबमोजिम कृषि, पर्यटन, जलविद्युत, वनपैदावार, प्रविधि, नवप्रवर्तनको विकास र ग्रामीण तथा दुर्गम क्षेत्रका साना, घरेलु तथा मझौला उद्यम तथा उद्यमीहरुको विकास एवं स्तरोन्नतिमा बैंक तथा वित्तीय संस्थाहरुले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए ।

त्यस्तै उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीलगायतले उपयुक्त नीति र वातावरणको सिर्जना, कर्जा लगानी विस्तारमा सहजीकरण, बैंकिङ पहुँच र सर्वसुलभ बैंकिङ सेवाको विस्तार तथा सुस्ताएका समग्र आर्थिक एवं बैंकिङ गतिविधिलाई चलायमान बनाउँदै दिगो आर्थिक एवं बैंकिङ विकासका लागि साधारण सभाले स्पष्ट कार्यदिशासहितको भूमिका सिबिफिनले निर्वाह गर्नेमा आशावादी रहेको धारणा राखे ।

सिबिफिनका अध्यक्ष पौडेलले मुलुकको अर्थतन्त्र आजको अवस्थासम्म आइपुग्नुमा बैंकिङ क्षेत्रको उल्लेखनीय भूमिका र योगदान रहेको बताए ।