काठमाडौं । त्रिभुवन विमानस्थलबाट स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी हुने गरेको भेटिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन तस्करीको आरोपमा पक्राउ परेका तीन जनामाथिको अनुसन्धानका क्रममा स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी भएको पाइएको हो ।
सुन तस्करीको आरोपमा नुवाकोटको पञ्चकन्या गाउँपालिका-१ घर भएका सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-३ घर भएकी अनिता तामाङ भनिने मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका-१ घर भएका लालबहादुर तामाङलाई पक्राउ गरेको छ ।
पुस १४ गते दिउँसो साढे २ बजे फ्लाई दुबईको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी एक महिलाले ल्याएको सुन लुटिएको थियो । सुन लुटिएको सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीसँगको समन्वयमा अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेका हुन् । अनुसन्धानका क्रममा लुटिएको सुन एक महिलाले प्याड लगाएर त्यसमा लुकाएर ल्याएको पाइएको प्रहरीले जनाएको छ । सुनलाई गालेर प्याडमा लेप लगाएर तस्करी गरिएको थियो ।
लुटिएको ४३६.१० ग्राम सुन प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरूविरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।