काठमाडौं । सिटिजन्स बैंकमा रहेको एफवान सफ्टको सिस्टम ‘ह्याक’ गरी साढे ३ करोड रुपैयाँ चोरी गरेको अभियोगमा २४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय साइबर ब्युरोले गरेको अनसन्धानपछि २४ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा विद्युतीय ठगीको कसुरमा मुद्दा दायर गरिएको हो ।
ब्युरोका प्रहरी उपरीक्षक (एसपी) एवं प्रवक्ता दिपकराज अवस्थीका अनुसार प्रतिवादी बनाइएका २४ मध्ये नौ जनालाई पक्राउ गरिएको छ भने १५ जना फरार छन् ।
ललितपुरका त्रिगुणरत्न बज्रचार्य, सिरहाका राहुल ठाकुर र पुरुषोतम साह, सप्तरीका कृष्णरमण राउत र सञ्जीवकुमार शर्मा, उदयपुरका कमल थापामगर र दीपक थापामगर तथा सुनसरीका सन्देश राई र सागरकुमार साह प्रक्राउ परेका हुन् ।
ह्याक गरिएको रकम उनीहरुको खातामा पठाएर विदेश लगिएको पाइएको एसपी अवस्थीले जानकारी दिए । ‘सुरुमा २४ जनाको खातामा रकम ट्रान्सफर गरिएको छ,’ उनले भने, ‘त्यहाँबाट दोस्रो फेरि करिब ५ सय जनाको बैंक खाता प्रयोग गरिएको देखिन्छ ।’
सिटिजन्स बैंकमा रहेको एफवान सफ्टको सफ्टवेयर ह्याक गरेर एफ वान सफ्टकै खाताबाट तीन करोड ५१ लाख ५० हजार ३७० रुपैयाँ चोरी भएको हो । सन् २०२४ अक्टोबर १, २, ३, र ४ तारिखमा खाताबाट ‘ह्याकरले पैसा चोरेको’ भन्दै कम्पनीले उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
सिटिजन्स बैंकसहित नेपालका ६९ भन्दा बढी बैंक वित्तीय संस्थामा एफवान सफ्टले नै मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा सञ्चालन गरिरहेको छ अर्थात् नेपालका सबैजसो बैंक वित्तीय संस्था एफवान सफ्टका क्लाइन्ट हुन् ।
वित्तीय संस्थाहरुलाई सेवा दिइरहेको नेपालकै प्रमुख डिजिटल प्लेटफर्म एफवान सफ्टकै सहकम्पनी हो, फोनपे पेमेन्ट सर्भिसेस प्रालि पनि । फोनपे पेमेन्ट सर्भिसेस प्रालिले फोनपे सञ्चालन गरेको छ ।
नेपालका सबै बैंकले फोनपे प्रयोग गरेका छन् । यस अर्थमा बैंकमा रहेको खाताबाट पैसा हराउनुले एफवान सफ्टकै सुरक्षा प्रणालीमा समस्या रहेको भन्दै प्रश्न उठेको छ ।