काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ सार्वजनिक भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस्तक लोकार्पण गरेका छन् ।
पोखरेलका संस्मरणहरु संगृहीत ‘आमा, सपना र ताराहरु’ सांग्रिला प्रकाशनले बजारमा ल्याएको हो । नेता पोखरेलको संवेदनामा आधारित यो कृतिले उनको जीवनमा आमाको भूमिकालाई उजागर गरेको छ ।
पुस्तकको भूमिकामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘लेखकले आमालाई गर्नुभएको स्मरणले फेरि एकपटक सबैलाई गहिरो मातृत्व बोध गराएको’ उल्लेख गरेकी छन् ।
पोखरेलका यसअघि पिस्कर दमन र प्रतिरोधको कथा (२०४१), माघ १९ (२०६३), पूर्वको रातो तारा (२०७२) तथा राष्ट्रिय सुरक्षा र नेपाली सेना (२०७७) प्रकाशित भइसकेका छन् ।