काठमाडौं । माघ दोस्रो साता मेक इन नेपाल एक्स्पो २०२५ र नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो २०२५ आयोजना हुने भएको छ । नेपाल पश्मिना उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघको सहकार्यमा माघ १० देखि १२ सम्म प्रदर्शनी कक्ष भृकुटीमण्डपमा एक्स्पो हुनेछ ।
प्रदर्शनीमा नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै ‘हाम्रै सामान, हाम्रै स्वाभिमान’ अभियानलाई अघि बढाउने उद्देश्य राखिएको छ । मेक इन नेपाल एक्सपोले नेपाली उत्पादनको प्रवर्द्धन गर्दै उद्योग, व्यवसाय र स्थानीय उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
त्यसैगरी, नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पोले नेपालमा उत्पादित उत्कृष्ट पश्मिना सामग्रीलाई प्रस्तुत गर्दै यस क्षेत्रको मौलिकता, गुणस्तर र अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ । प्रदर्शनीमा नेपालका व्यवसायी, उद्यमी, निर्यातकर्ता, तथा निति निर्माताको सहभागिता रहनेछ ।
साथै, यसले नेपाली उत्पादनका नयाँ सम्भावना पहिचान गर्न र विदेशी लगानीलाई आकर्षित गर्न सहयोग पुऱ्याउने अपेक्षा आयोजकको छ । प्रदर्शनीले स्वदेशी उत्पादनको प्रचारप्रसारका लागि विभिन्न रणनीतिक र सिर्जनशील उपायहरू अवलम्बन गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
एक्स्पोमा शुद्ध नेपाली पश्मिना हस्तकला, कृषि, र घरेलु उत्पादनको विशेष स्टलहरू, अनलाईन र डिजिटल मार्केटिङ प्लेटफर्महरूको प्रबर्द्धन, नेटवर्किङ कार्यक्रम, स्थानीय र अन्तर्राष्ट्रिय उद्योगहरूसँग सहकार्य, ब्रान्डिङ क्याम्पेन जस्ता कुराले नेपाली उत्पादनको प्रवर्द्धनका लागि विशेष टेवा पुऱ्याउने साथै नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै आर्थिक समृद्धिको दिशामा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।
एक्स्पोमा १५० भन्दा बढी स्वदेशी वस्तु तथा सेवाको स्टलहरु रहनेछन्, जसमध्ये ४० भन्दा बढी नेपालमा उत्पादित उत्कृष्ट पश्मिनाका स्टल रहनेछन् । एक्स्पोको २० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । एक्स्पोको राइजिङ नेपाल प्रालिले व्यवस्थापन गर्ने आयोजकले जनाएको छ ।