• Menu

एमाले नेता ऋषिकेश पोखरेलका स्वकीयविरुद्ध ३८ लाख घुस लिएको आरोप

नेपाल प्रफिट

२०८१ पुस १९, शुक्रबार १२:३०

एमाले नेता ऋषिकेश पोखरेलका स्वकीयविरुद्ध ३८ लाख घुस लिएको आरोप

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति एवं नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय अनिलकुमार पोखरेलविरुद्ध ३८ लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ ।

एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने नाममा अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ घुस लिएको आरोप लागेको हो ।

घुस लिएको सार्वजनिक भएपछि नेता पोखरेलले अनिललाई जिम्मेवारीबाट मुक्त गरेका छन् । अनिलको घर मोरङको रंगेली नगरपालिका २ हो ।

घुस दिने चौधरीले अनिलविरुद्ध उजुरी दिए पनि प्रहरीले लिन नमानेको बताएका छन् । त्यसपछि उनले उच्च अदालत विराटनगरमा २०७९ सालमा मुद्दा दर्ता गराएका थिए ।

उनीविरुद्ध उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएपछि नेता पोखरेलले स्वकीय सचिव पदबाट मुक्त गरेका हुन् ।

सभापति पोखरेलले अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरेको पत्र संघीय संसदका महासचिवलाई बुझाएका छन् । आरोपमाथि अनुसन्धान गर्न सहयोग पुगोस् भनेर स्वकीय सचिव पदबाट निष्कासन गरेको उनले लेखेको पत्रमा उल्लेख छ ।

नेकपा एमालेको मोरङ जिल्ला कमिटी सदस्य अनिल २०७९ को निर्वाचनमा प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिसमा परेका थिए ।