काठमाडौं । कैलालीको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शिलान्यास भएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लम्की चुहा नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको एक विशेष कार्यक्रमबीच शनिबार शिलान्यास गरेकी हुन् ।
कार्यक्रममा परराष्ट्रमन्त्री डा. राणाले जालपादेवी केवलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन् ।
‘सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ । प्राकृतिक स्रोत एवं सम्पदाले यो भूगोल जति सम्पन्न छ, त्यति नै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि छ,’ उनले भनिन्, ‘सुदूरपश्चिम क्षेत्रका समुदाय विकासप्रेमी पनि छन् । यहाँ बन्ने केबलकार, होटलसहितको भव्य पर्यटकीय पूर्वाधार सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठूलो उपलब्धि हुनेछ ।’
आयोजना समयमै सम्पन्न गर्न आवश्यक सहयोग गरी सुदूरपश्चिम क्षेत्रका नागरिकको सहयोगको भावनालाई दर्शाउन उनले सबैमा अपिल पनि गरिन् । ‘काठमाडौँको चन्द्रागिरिदेखि नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधार निर्माण गरिरहेको आइएमई ग्रुपजस्तो व्यावसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु,’ उनले भनिन्, ‘यहाँहरुको दक्षता, अनुभव र क्षमताअनुसार यो प्रोजेक्ट पनि समयमै सम्पन्न होस् भनी कामना गर्दछु ।’
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले केबलकार तथा अन्य पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताए । नेपालको पश्चिम भेगमा भौतिक विकासका पूर्वाधार कम रहेको अवस्थामा यस्ता पूर्वाधार विकासमा थप लगानी भित्र्याउन निजी क्षेत्रलाई उनले आग्रह गरे । विकासका पूर्वाधारमा स्वदेशी काठको प्रयोग गर्न पनि उनले अनुरोध गरे ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीमा निर्माण हुने केबलकार र रिसोर्टले शाहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढवा दिने धारणा राखे ।
जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेको बताए ।
‘पर्यटन पूर्वाधारमा लगानी गरेरमात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ, थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ, थप रोजगारी सिर्जना गर्न सकिन्छ, थप राजस्व उठाउन सकिन्छ र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल गर्न सकिन्छ,’ उनले भने ।
अध्यक्ष ढकालले केवलकार पर्यटन सर्किट बनाउने आफ्नो लक्ष्यमा जालपादेवी केवलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताए । यसको शिलान्यास र अबको निर्माणमा स्थानीय समुदाय, राजनीतिक दल र नेपाल सरकारका निकायहरुको सहयोग अन्य केवलकार निर्माण क्षेत्रका लागि उदाहरण बन्ने उनले उल्लेख गरे ।
लम्की चुहा नगरपालिका वडा नं. ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् ।
पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेस्टुराँ तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधार निर्माण हुनेछन् ।