• Menu

झापामा सवा अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’, भारतीय, भुटानी र बंगलादेशी पर्यटकलाई लक्षित

नेपाल प्रफिट

२०८१ पुस १३, शनिबार ०६:०७

झापामा सवा अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’, भारतीय, भुटानी र बंगलादेशी पर्यटकलाई लक्षित

झापा । झापामा एउटा पाँचतारे होटल थपिएको छ । मेचीनगर नगरपालिका–७ इँटाभट्टामा ‘अश्वत्थ’ नामक पाँच तारे होटल स्थापना भएको हो ।

सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेले होटल ‘अश्वत्थ’मा एक अर्ब ३० करोड लगानी गरेको छन् । सन् २०२५ जनवरीको पहिलो दिनदेखि होटल सञ्चालनमा आउने उनले जानकारी दिए ।

काँकडभिट्टाबाट चार किलोमिटर पश्चिम इँटाभट्टामा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको होटल ‘अश्वत्थ’ दुई बिघामा फैलिएको छ । मेचीनगर–८ मा अर्को पाँचतारे ‘होटल मेची क्राउन’ विगतदेखि सञ्चालनमा छ ।

बिर्तामोडमा पाँचतारे होटल ‘किङ्सबेरी’ पनि सञ्चालनमा छ । यससँगै झापामा तीनवटा पाँचतारे दर्जाका होटल भएका छन् । अरु दुई वटा पाँचतारे स्तरका होटल झापामा प्रस्तावित छन् ।

केही दिनपछि नै सञ्चालनमा आउने होटल ‘अश्वत्थ’ले पाहुनाका लागि अनलाइन बुकिङ खुला गरिसकेको छ । होटलमा ८४ वटा स्विट्स र डिलक्स कोठा भएको प्रमुख व्यवस्थापक कुमार कोइरालाले बताए ।

होटलमा इन्डोर स्विमिङ पुल, जाकुजी, स्पा, ब्याङ्केट हल, ध्यान र योग साधनाको सुविधा उपलब्ध रहेको उनले जानकारी दिए । होटलमा क्यासिनो पनि सञ्चालन हुनेछ ।

एसियाका ३२ मुलुकलाई स्थलमार्गबाट जोड्ने एसियाली राजमार्गको निर्माण तीव्रगतिमा भइरहेकाले नेपालको पूर्वी प्रवेशद्वार मेचीनगरमा पर्यटकीय चहलपहल बढ्ने व्यवसायीको अपेक्षा छ । त्यही उत्साहले पाँचतारे होटलमा लगानी गरेको सञ्चालक घिमिरेले बताए ।

भारतका मुख्य सहरमा दैनिक ४० उडान भरिरहेको बागडोग्रा विमानस्थल र रात्रिकालीन सञ्चालन क्षमता भएको चन्द्रगढी विमानस्थलबाट ३० किलोमिटरभन्दा कम दूरीभित्र रहेको मेचीनगर बाह्य र आन्तरिक पर्यटकका लागि बासस्थान भएको उनको विश्लेषण छ ।

‘भारतीय, भुटानी र बंगलादेशी पर्यटकलाई लक्षित गरी होटल खोलेका हौँ,’ उनले भने, ‘भविष्यमा इन्डोनेसियाको बाली र थाइल्यान्डको बैंककबाट एसियन हाइवे हुँदै नेपालमा सजिलै पर्यटक आइपुग्ने सम्भावना छ । यही सम्भावना देखेर धमाधम अरु होटल पनि खुलिरहेका हुन् ।’

पूर्वीनाकाको पाँच किलोमिटरभित्र काँकडभिट्टा, इँटाभट्टा र धुलाबारी बजार क्षेत्र पर्छन् । इँटाभट्टा क्षेत्रमै पाँचतारे ‘अश्वत्थ’ र ‘मेची क्राउन’ छन् । यी दुबै होटलमा क्यासिनो छन् । काँकडभिट्टाका अरु दुई पर्यटकीय होटलमा मिनी क्यासिनो चलिरहेका छन् ।

अब मेचीनगरमा क्यासिनोको संख्या चार पुगेको छ । मेचीनगर–१० धुलाबारीमा अर्को एउटा पाँचतारे होटलको भवन निर्माणाधीन छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि विर्तामोडमा एउटा पाँचतारे होटल बनाइरहेका छन् ।

भारतको गोवा र सिक्किममा मात्र क्यासिनो सञ्चालन हुने भएकाले भारतीय धनाढ्य नेपालका क्यासिनोप्रति आकर्षित छन् । क्यासिनो सञ्चालनले होटल व्यवसायसमेतमा टेवा पुगेको छ ।

होटल ‘अश्वत्थ’मा सुरुमै ५५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । होटलले पर्यटकका लागि हिमाली क्षेत्रको दृश्यावलोकन गराउन माउन्टेन फ्लाइटसमेतको व्यवस्था मिलाएको प्रमुख व्यवस्थापक कोइरालाले बताए । भारतको आसाम, दिल्ली र पश्चिम बंगालका पर्यटकले होटलको बुकिङ गर्न थालिसकेको उनले जानकारी दिए ।