काठमाडौँ । पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सातवटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको हो ।
शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको छ । त्यसअघि पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४.३ र पुस ३ गते बझाङको धामेना मै ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गयो ।
पुस ६ गते बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प गयो भने पुस ९ गते ९ बजेर २५ मिनेट जाँदा दार्चुलाको अपी हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्नेच्युड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा निरन्त परकम्प गएको हो ।