• Menu

सम्पत्ति शुद्धीकरणमा रवि लामिछाने र निकिता पौडेल दुवैविरुद्ध मुद्दा दर्ता

नेपाल प्रफिट

२०८१ पुस ७, १५:१९

सम्पत्ति शुद्धीकरणमा रवि लामिछाने र निकिता पौडेल दुवैविरुद्ध मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेलविरूद्ध मुद्दा दर्ता भएको छ । रवि दम्पतीविरूद्ध जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दर्ता भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सम्पत्ति शुद्धीकरणमा रविसँगै निकितालाई पनि मुद्दा लगाएको जनाएको छ । रवि लामिछानेलाई सरकारी वकिल कार्यालयले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा प्रतिवादी बनाएको छ भने निकितालाई सम्पत्ति जफत प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको हो ।

लामिछानेको सम्पत्ति पौडेलमा पनि गएको भन्दै जफत गर्नका लागि प्रतिवादी बनाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सम्पत्ति शुद्धीकरणमा रविलाई मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

साथै लीला पछाई, उनकी आमा राधा पछाई, दिदी गीता पछाई, पूर्वडीआइजी छविलाल जोशी, उनकी श्रीमती पद्मा जोशी बन्जाडे र छोरा रोचक जोशीको पनि सम्पत्ति जफत गर्न माग भएको छ ।

पूर्वडीआईजी जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको हुँदा उक्त रकम मागदाबी गरिएको छ । उनीहरूसँगै गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ ।

आइतबार दर्ता गरिएको पूरक अभियोगपत्रमा ४४ जनालाई प्रतिवादी बनाइएकोमा ३१ जनालाई सहकारी ठगीमा मात्रै कसुर दायर भएको छ । आठवटा कम्पनी र पाँच जनाविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो ।