• Menu

बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला र उपाध्यक्षमा सुरेन्द्र रेग्मी निर्विरोध निर्वाचित

नेपाल प्रफिट

२०८१ पुस ३, बुधबार १६:३३

बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला र उपाध्यक्षमा सुरेन्द्र रेग्मी निर्विरोध निर्वाचित
फाइल तस्बिर

काठमाडौँ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला नेपाल बैंकर्स संघको अध्यक्ष चयन भएका छन् । संघको बुधबार सम्पन्न साधारण सभाबाट कोइराला निर्विरोध अध्यक्ष चयन भएका हुन् । कोइराला यसअघि दुई कार्यकाल संघको उपाध्यक्ष थिए ।

त्यस्तै संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका सीईओ सुरेन्द्र रेग्मी चयन भएका छन् । साधारण सभाबाट रेग्मी पनि निर्विरोध निर्वाचित भएका हुन् ।

संघका रिक्त तीन सदस्य पदमा पनि निर्विरोध भएको छ । एभरेस्ट बैंकका सीईओ सुदेश खालिङ दोस्रो कार्यकालका लागि चुनिएका छन् । त्यस्तै नेपाल बैंकका सीईओ तिलकराज पाण्डे र कुमारी बैंकका सीईओ रामचन्द्र खनाल पनि चयन भएका छन् ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठनको नेतृत्व अब कोइरालले दुई वर्ष गर्नेछन् । संघको कार्यसमितिमा अध्यक्ष कोइराला, निवर्तमान अध्यक्ष सुनिल केसी र उपाध्यक्ष रेग्मी तथा सदस्यहरुमा प्रभु बैंकका सीईओ अशोक शेरचन, नेपाल एसबीआई बैंकका सीईओ दीपककुमार दे, सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका सुन्दरप्रसाद कँडेल तथा एभरेस्ट बैंकका खालिङ, कुमारीका खनाल र नेपाल बैंकका पाण्डे रहनेछन् ।

सल्लाहकारको भूमिकामा संघका पूर्वअध्यक्षहरु नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना र हिमालयन बैंकका सीईओ अशोक राणा छन् । संघले पूर्वअध्यक्ष राजनसिंह भण्डारीलाई सम्मान गरेको छ ।