• Menu

नेपाल बैंकर्स संघको अध्यक्ष कोइराला बन्ने निश्चित, उपाध्यक्षमा ग्लोबल आईएमईका सीईओ रेग्मी

नेपाल प्रफिट

२०८१ पुस १, १८:०५

नेपाल बैंकर्स संघको अध्यक्ष कोइराला बन्ने निश्चित, उपाध्यक्षमा ग्लोबल आईएमईका सीईओ रेग्मी
फाइल तस्बिर

काठमाडौँ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला नेपाल बैंकर्स संघको अध्यक्ष बन्ने निश्चित भएको छ । अध्यक्षमा वर्तमान उपाध्यक्ष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचनको उम्मेदवारी परेपछि निर्वाचन गर्नुपर्ने अवस्थामा पुगेका बेला सहमतिको सार्थक प्रयास भएको हो ।

संघका अध्यक्ष सुनिल केसी एवं पूर्वअध्यक्षहरु अशोक राणा र ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा कार्यकारी सदस्य सुदेश खालिङलगायतले सहमतिमा अघि बढ्न सोमबार शेरचनलाई आग्रह गरेका थिए । उनीहरुको आग्रहमा शेरचन सहमतिमा आएका हुन् ।

तेह्र वर्षयता संघको उपाध्यक्ष स्वत: अध्यक्ष रहँदै आएका छन् । पुस ३ गते संघको ३८औं वार्षिक साधारण सभाले अध्यक्षमा कोइरालाको उम्मेदवारीलाई अनुमोदन गर्नेछ । कोइराला यसअघि दुई कार्यकाल संघको कार्यकारी सदस्य र वर्तमानसमेत गरी दुई कार्यकाल उपाध्यक्ष रहिसकेका छन् ।

सुरेन्द्र रेग्मी ।

त्यस्तै संघको उपाध्यक्ष ग्लोबल आईएमई बैंकका सीईओ सुरेन्द्र रेग्मी बन्ने भएका छन् । साधारणसभाबाट अरु तीन सदस्य पनि चयन हुनेछन् । एभरेस्ट बैंकका सीईओ खालिङले दोस्रो कार्यकाल दोहोर्‍याउने भएका छन् भने दुई बाँकी सदस्यमा नेपाल बैंकका सीईओ तिलकराज पाण्डे र कुमारी बैंकका सीईओ रामचन्द्र खनाल आउनेछन् ।