काठमाडौँ । मलेसियामा जारी महिला यु-१९ एसिया कपमा नेपाल र भारतबीचको आजको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै देशले एक एक अंक बाँडेका छन् ।
दुवैको तीन तीन अंक भए पनि रनरेटका आधारमा भारत समूह ‘ए’ को विजेता तथा नेपाल उपविजेता बनेको छ । दुवै देश ‘सुपर फोर’मा प्रवेश गरेका छन् । यही समूहमा रहेको पाकिस्तान दुवै खेलमा पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको छ । ‘सुपर फोर’मा नेपालले अब बिहीबार श्रीलंकासँग तथा शुक्रबार बंगलादेशसित खेल्ने छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९४ रन बनायो । जितका लागि ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ३.१ ओभरमा बिनाकुनै विकेट २८ रन बनाउँदा वर्षाका कारण खेल रद्द भएको थियो ।
यसअघि नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन् । उनले ४० बल खेल्ने क्रममा तीन चौका प्रहार गरिन् । यस्तै, एलिशाकुमारी यादवले अविजित २० रन बनाइन् ।
साना प्रवीनले ९, सोनी पाख्रिनले ८, ज्योत्स्निका मरासिनीले ६, सावित्री धामी र रचनाकुमारी चौधरीले तीन-तीन तथा अनु कडायत र कुसुम गोदारले एक-एक रनको योगदान दिए ।
बलिङतर्फ भारतकी पारुनिका सिसोदियाले सर्वाधिक ४ विकेट लिइन् । यस्तै, आनन्दिता किशोर र मिथिला विनोदले समान एक-एक विकेट लिए । यसअघि नेपालले पहिलो खेलमा सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।