बागलुङ । सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशतमात्र सम्पन्न भएको छ । पहाडी चार जिल्लालाई तराईसँग जोड्ने गरी २०६७ सालदेखि सुरु भएको आयोजनाको कामले गति लिन नसकेको हो ।
रुपन्देहीको सालझण्डीबाट सुरु भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङ गरी पाँच जिल्लालाई जोडेको छ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने मुख्यमार्गका रूपमा रहेको यस खण्डको ट्र्याक खुल्यो तर स्तरोन्नति हुन सकेको छैन ।
सालझण्डीबाट ढोरपाटनसम्म १९७ किलोमिटर लामो यस खण्डअन्तर्गत हालसम्म १८ किलोमिटरमात्रै कालोपत्र भएको छ । रुपन्देहीमा ४.५ किमी र अर्घाखाँचीमा १३.५ किमी सडक कालोपत्र भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयकी सूचना अधिकारी इन्जिनियर कृष्टिना थापाले जानकारी दिइन् । अहिले पाँचवटै जिल्लाका विभिन्न खण्डमा ग्राभेलिङसहित काम भइरहेको उनले बताइन् ।
इन्जिनियर थापाका अनुसार बागलुङको बुर्तिबाङबाट फल्लेघरसम्मको २२ किमी ग्राभेल हुँदैछ भने रुपन्देही–पाल्पा खण्डअन्तर्गत कञ्चनखोलाबाट खुर्सानेसम्म १३.५ किमी कालोपत्र भइरहेको छ । पाल्पाको खुर्सानेबाट अर्घाखाँचीको पतौटसम्मको २२ किमी सडक पनि कालोपत्र भइरहेको उनले जानकारी दिइन् ।
‘अर्घाखाँचीको माटेबाट भण्डारासम्म सात किमी, गुल्मीको पुर्कोटदहबाट सिर्सेनीसम्मको १९ किमी, सिर्सेनीबाट गुल्मीको अर्खबाङसम्मको ८.२ किमी सडक कालोपत्र भइरहेको छ,’ थापाले भनिन् ।
अर्घाखाँचीमा १८, गुल्मी र बागलुङ सात-सात गरी ३२ किमी सडक स्तरोन्नतिको काम भने सुरु हुन नसकेको उनले बताइन् । ‘पर्याप्त बजेट नआउँदा आयोजनाको प्रगति कम भएको हो,’ उनले भनिन् ।
ट्र्याक खुलेको लामो समयसम्म सडक स्तरोन्नति नहुँदा ढोरपाटन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्नुपरेको ढोरपाटन–९ का बमबहादुर सुनारले बताए । साँघुरो सडक, खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारीसाधन बीच बाटोमा बिग्रिने र अलपत्र पर्ने गरेको उनको गुनासो छ ।
हिउँदको समयमा पनि यातायातका साधन सहज रुपमा सञ्चालन हुन नसक्ने यो सडक खण्डमा बर्खाको समयमा ठप्प नै हुन्छ । ‘यो विकट ठाउँमा सडक आएपछि ठूलो राहत भए पनि लामो समयसम्म कालोपत्र नहुँदा यहाँका हजारौँ स्थानीय र पर्यटकले दुःख पाउँदै आएका छन्,’ उनले भने, ‘टाढाटाढाबाट पर्यटक ढोरपाटन घुम्न आउँछन् तर बाटोको दूरवस्थाले गर्दा अर्को पटक आउने योजना सायद बनाउँदैनन् ।’
(रासस)