काठमाडौं । कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित निकालेको छ । लगातार चार खेलमा हाल व्यहोरेको लुम्बिनीले आज कुशल मल्लको कप्तानीमा मैदान उत्रिएको चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो ।
आजको खेलमा लुम्बिनीका कप्तान रोहितले अलराउन्ड प्रदर्शन गरेका छन् । उनले जारी एनपीएलमा दोस्रो शतक बनाउने क्रममा आज ५७ बलमा ८० रन जोडेका छन् । उनले ६ चौका र ५ चौका प्रहार गरे ।
त्यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । लुम्बिनीका लागि अर्को अर्धशतक साद बिन जफरले बनाए । उनले ३५ बलमा ५२ रन जोडे ।
१६८ रनको लक्ष्य पछ्याएको चितवन ८ विकेटको क्षतिमा १३४ रनमा समेटिएको छ । चितवनलाई सस्तैमा रोक्न लुम्बिनीका कप्तान रोहितले ४ विकेट लिए । किफायती बलिङ गरेका उनले ४ ओभरमा जम्ममा १७ रन दिएका थिए । उनी खेलको म्यान अफ द म्यान बने । त्यस्तै रामोन सिमोन्ड्सले २ विकेट लिए ।
चितवनका लागि लुक बेनकेन्सटेनले सर्वाधिक ३१ रन बनाए । त्यस्तै दसौं नम्बरमा ब्याटिङ गर्न आएका नर सार्कीले १२ बलमा २२ रन र कप्तान मल्लले २० रन जोडे ।
यसअघि विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग हार व्यहोरिसकेको छ भने तीन खेल जितेको चितवनले दुई खेल हारेको छ ।