• Menu

कांग्रेस नेता बस्नेतको गर्जन- यो देशमा सरकार जो होस्, सिन्धुपाल्चोकको सरकार म हुँ

नेपाल प्रफिट

२०८१ मंसिर २४, ११:२४

कांग्रेस नेता बस्नेतको गर्जन- यो देशमा सरकार जो होस्, सिन्धुपाल्चोकको सरकार म हुँ

सिन्धुपाल्चोक । निर्माण नसकिँदै पुल उद्घाटन गर्न पुगेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहन बस्नेतको कार्यशैलीको स्थानीयले चर्को विरोध गरेका छन् । शनिबार दाविखेला पुल उद्घाटन गर्न पुगेका बस्नेतविरुद्ध स्थानीयले नाराबाजी गर्दै अवरोध गरेका हुन् ।

जुरे पहिरोपछि वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको सो क्षेत्रमा बागमती प्रदेश सरकारको बजेटबाट पुल निर्माण भइरहेको छ । यो योजना पूर्वसभामुख अग्निप्रसाद सापकोटा र तत्कालीन मन्त्री अरुण नेपालको पहलमा सुरु गरिएको हो ।

तर, निर्माण सम्पन्न नहुँदै पुल उद्घाटन गर्न हतारो देखाएका नेता बस्नेतको कार्यप्रति स्थानीय आक्रोशित बनेका छन् । विरोध प्रदर्शनका क्रममा चर्को नाराबाजी भएपछि बस्नेतले ठूलो संख्यामा प्रहरी परिचालन गराएका दबाब सिर्जना गरेको उनीहरूको आरोप छ ।

कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री भएकाले सरकारी शक्ति दुरुपयोग गरिएको भन्दै स्थानीयले थप असन्तुष्ट बनेका छन् । स्थानीयको उपस्थितिबिना बाहिरी व्यक्ति बोलाएर बन्दैको गरेको पुलको उद्घाटन गरेका बस्नेत माओवादी नेताहरुलाई तथानाम गाली गरेर भागेका थिए ।

उनले माओवादी नेताहरुलाई सरकार जसले चलाए पनि सिन्धुपाल्चोकको सरकार आफू भएकाले सतर्क रहन चेतावनी दिएका छन् । ‘याद छ कि छैन पशुपति शमशेरको जल्दोबल्दो समयमा विद्यार्थीको हैसियतले लडेर आएको मान्छे हुँ,’ चेतावनीको भाषामा उनले भने, ‘मैले भनिदिएको छु, यो देशमा सरकार जो होस्, सिन्धुपाल्चोकको सरकार म हुँ ।’

उनले जिल्लामा विकास चाहिए नेपाली कांग्रेसले दिने बताए । ‘विकास चाहियो भने भन हामी दिन्छौं,’ बस्नेतले भने, ‘तर चुरिफुरि गरेर रुख ढाल्ने र सुख ढाल्ने भयो भने त्यही रुख उचालेर त्यहीँ लगेर गर्धन मुनि रुख माथि पारिदिनुपर्ला ।’

नेता बस्नेत अर्को पार्टीका सांसदप्रति तल्लो स्तरका शब्दसहित प्रस्तुत भए । ‘सुवोध सापकोटा भन्ने लिखुरे चुनाव उठ्यो भने क्षेत्र नम्बर १ बाट हामी जमानत जफत गराएर छाडिदिन्छौँ,’ उनले भने, ‘सुनाइदिए हुन्छ, फटाहालाई ।’ माधव सापकोटा ‘सुवोध’ सिन्धुपाल्चोक-१ मा माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् ।

सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट संघीय सांसद रहेका बस्नेतले माओवादीसँगको गठबन्धन टुटेपछि क्षेत्र नं. १ मा सक्रियता बढाएका छन् ।