ललितपुर । ललितपुरमा पालिएका बंगुरमा अफ्रिकन ‘स्वाइन फिभर’को संक्रमण देखिएपछि दुई सय बढी बंगुर मरेका छन् । ‘स्वाइन फिभर’ संक्रमणका कारण खोरमा रहेका बंगुर धमाधम मर्न थालेपछि किसान चिन्तित भएका छन् ।
खोरमा रहेका बंगुर मर्न थालेपछि परीक्षण गर्दा अफ्रिकन ‘स्वाइन फिभर’ को संक्रमण देखिएको जिल्ला पशुसेवा कार्यालय ललितपुरले जनाएको छ । महानगरपालिका पशुसेवा विभागले बंगुर मर्न थालेपछि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरेको पिसिआर परीक्षणको नतिजाअनुसार जिल्लाको नख्खु करिडोर छेउछाउमा किसानले पालेका बंगुरमा अफ्रिकन ‘स्वाइन फिभर’ देखा परेको हो ।
कात्तिक अन्तिम साता नख्खु खोल आसपासमा किसानले पालेका बंगुरमा रोग देखिएर मर्न थालेका थिए । अहिले पनि संक्रमण फैलिँदै गएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख प्रभात न्यौपानेले बताए । ‘रोग फैलिँदै गएको छ । अहिलेसम्मको तथ्यांकका आधारमा किसानका दुई सयभन्दा बढी बंगुर मरेका छन् । अहिले दक्षिणकालीमा संक्रमण बढी देखिएको,’ उनले भने ।
बंगुरमा देखिने अफ्रिकन ‘स्वाइन फिभर’ पशुमा तीव्र रूपमा फैलिनसक्ने भएकाले ललितपुर महानगरपालिका पशु सेवा शाखाले बंगुर किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ललितपुर महानगरपालिका–२२ चुनिखेल, धापासी, नख्खु खोला करिडोरलगायत क्षेत्रमा पालिएका बंगुर मरेका हुन् ।
दुई सयभन्दा बढी बंगुर मरेकाले किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको पशुसेवा शाखा प्रमुख राजेन्द्र विष्टले बताए । ‘अफ्रिकन ‘स्वाइन फिभर’ पशुमा छिटो सर्ने भएकाले बंगुरलाई दानापानी दिँदा सतर्कता अपनाउनुपर्छ,’ उनले भने, ‘एक–अर्काबीच पनि संक्रमण फैलिन सक्ने भएकाले सचेत भएर पशु स्याहार गर्नुपर्छ । संक्रमण थप नफैलियोस् भनेर किसानलाई उचित सल्लाह दिएका छौँ ।’
बंगुरलाई उक्त संक्रमणबाट बचाउन खोप उपलब्ध नभएकाले संक्रमण देखापरेका बंगुरलाई छुट्टै खोरमा राखी दानापानी दिनुपर्ने भन्दै किसानले पनि उच्च सतर्कता अपनाउनुपर्ने केन्द्रीय पशुसेवा विभागका सूचना अधिकारी सुधीरकुमार सिंहले बताए । ‘महानगरभित्रका किसानले पालेका बंगुरमा रोग देखिएका छ । पशु शाखाले त्यसको न्यूनीकरण गर्ने लागि पहल गरिरहेको छ,’ उनले भने ।
अफ्रिकन स्वाइन फिभर पशुबाट मानिसमा भने सर्दैन । पशुबाट पशुमा सर्ने जोखिम रहेकाले पशु स्याहारमा विशेष सावधानी अपनाउनुपर्ने विभागका सूचना अधिकारी सिंहले बताए । ‘सुंगुर, बंगुर तथा बँदेल प्रजातिमा विषाणुका कारण यो रोग सर्ने र मृत्यु हुने गर्छ,’ उनले भने ।
गत असोज १२ गते नख्खु खोलामा आएको बाढीले संक्रमण बगाएर ल्याएकाले करिडोर क्षेत्रमा पालिएका बंगुरमा अफ्रिकन स्वाइन फिभर देखिएको हुनसक्ने पशुसेवा कार्यालयका प्रमुख न्यौपानेले बताए । ‘बंगुर मर्ने क्रम बढिरहेको छ,’ उनले भने, ‘संक्रमण महामारीका रूपमा फैलिन नदिन यस क्षेत्रमा अत्यावश्यकबाहेक आवातजावतमा रोक लगाएका छौं । किसानलाई सुरक्षाका सामग्री र औषधिसमेत उपलब्ध गराएका छौँ ।’
प्रमुख न्यौपानेले संक्रमण भएमा १०४ देखि १०७ डिग्री फरेनहाइट ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छट्पटाउने, तुहिनेलगायत लक्षण देखापर्ने जानकारी दिए ।