• Menu

कृषि विकास मन्त्रालयले लगायो तीन प्रकारका विषादीमा प्रतिबन्ध

नेपाल प्रफिट

२०८१ मंसिर २१, शुक्रबार १२:५६

कृषि विकास मन्त्रालयले लगायो तीन प्रकारका विषादीमा प्रतिबन्ध

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तीन प्रकारका विषादीमा प्रतिबन्ध लगाएको छ । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै दुई प्रकारका कीटनाशक र एक प्रकारको झारपातनाशक विषादी नेपालमा प्रयोग गर्न प्रतिबन्ध लगाएको हो ।

अब नेपालमा पाराक्वाट/पाराडाइक्लोराइड नामक झारपातनाशक विषादी तथा ‘क्लोरोपाइरिफस’ र ‘फोरेट’ नामक किटनाशक विषादी प्रयोग गर्न पाइनेछैन ।

जीवनाशक विषादी व्यवस्थापन समितिले असार २५ गते पाराक्वाट/पाराडाइक्लोराइड झारपातनाशक विषादी र क्लोरोपाइरिफस कीटनाशक विषादीमाथि प्रतिबन्ध लगाउन मन्त्रालयलाई सिफारिस गरेको थियो । त्यस्तै समितिले फोरेट कीटनाशक विषादीमाथि प्रतिबन्ध लगाउन कात्तिक ३० मा सिफारिस गरेको थियो ।

मन्त्रालयले जीवनाशक विषादी व्यवस्थापन ऐन २०७६ को दफा २२ अनुसार उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण वा बिक्री–वितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ ।

राजपत्रमा प्रकाशित भएसँगै नेपालमा अब यी विषादी उत्पादन, निकासी र आयात गर्न पाइँदैन । मन्त्रालयले सूचना प्रकाशन हुनुअघि नेपालमा आयात भइसकेको विषादी खपत गर्न भने दुई वर्षको समय दिएको छ ।