काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा भारतीय स्टार क्रिकेटर शिखर धवनआबद्ध कर्णाली याक्सले पहिलो संघर्षपूर्ण जित निकालेको छ ।
पहिलो खेलमा काठमाडौं गुर्खाजसँग ३ विकेट र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटको हार व्यहोरेको कर्णालीले आज भएको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३१ रन बनाएको थियो । चितवनका लागि रभी बोपाराले सर्वाधिक ५९ रन बनाए । कुशल मल्लले २३ तथा विपिन रावलले ११ रन बनाउँदा चितवनका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
१३२ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले १५.२ ओभरमा शिखर धवनलाई दोस्रो विकेटको रुपमा गुमाउँदा १०४ रन बनाइसकेको थियो । तर, प्रशस्त ब्याटर बाँकी रहे पनि पछिल्लो ४.४ ओभरमा २८ रन बनाउन कर्णालीलाई निकै संघर्ष गर्नुपर्यो ।
कर्णालीले सोह्रौं ओभरमा १ विकेटको क्षतिमा ४ रन, सत्रौं ओभरमा १ विकेटको क्षतिमा ६ रन, अठारौं ओभरमा ७ रन र उन्नाइसौं ओभरमा २ रनमात्र जोड्न सक्यो ।
बीसौँ ओभरका सुरुवाती तीन बलमा लगातार दुई-दुई रन जोडेका अर्जुन घर्ती चौथो बलमा रन आउट भएका थिए । कर्णालीलाई दुई बलमा तीन रन चाहिएको थियो । पाँचौं बलमा जिसन मक्सुदले चौका प्रहार गर्दै एक बल बाँकी रहँदै खेल आफ्नो पक्षमा पारे । जारी लिगमा चितवनले पहिलो हार व्यहोरेको छ ।