काठमाडौँ । सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जारी दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिमका ब्रान्डन म्याकमुलनले सर्वाधिक ५३ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ४३ तथा विनोद भण्डारीले ३५ रन बनाए ।
पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरूवात गरेको थियो । काठमाडौंले पनि पहिलो खेलमा कर्णाली याक्सलाई हराएको छ ।