काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ ।
अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो । पोखरा भने लगातार दोस्रो खेलमा पराजित भयो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३८ रन बनाएको थियो ।
पोखराका लागि मार्कस क्रिचले ३० बलमा एक छक्का र तीन चौका प्रहार गर्दै ३५ रन बनाए । माइकल लिस्कले २५, एन्ड्रिज गौसले २०, रेमन रेफरले १७ र दिलीप नाथले ११ रनको योगदान दिए ।
साथै दिनेश खरेलले १०, कप्तान कुशल भुर्तेलले ६ रन जोडे भने अविजित रहँदै नारायण जोशीले ५ र विपिन खत्रीले एक रन बनाए । त्यस्तै, पोखरा एभेन्जर्सले दिएको एक सय ३८ रनको लक्ष्य पच्छाएको जनकपुर बोल्ट्सले १७.१ बल मा पुरा गरेको छ ।
जनकपुर बोल्ट्सका लागि कप्तान अनिलकुमार साह एक रनमा आउट भए पनि अर्का ओपनिङ ब्याटर आसिफ शेखले ३४ बलमा ३३ रन बनाए । उत्कृष्ट लयमा रहेका लाहिरू मिलान्थाले ३२ बलमा ८ चौका प्रहार गर्दै ४५ रन जोडे ।
जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, जेम्स निशमले दुई, मोहम्मद मोहसिन र किशोर महतोले समान एक- एक विकेट लिए ।
जनकपुरले यसअघिका दुवै खेलमा जित निकालेको थियो। पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।